ऋतुसिंह वैद्यको नेतृत्वमा नाडाजस्तै अर्को संस्था,औपचारिक घोषणा हुन बाँकी
काठमाडौं । अटो व्यवसायीहरुले नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)जस्तै अर्को संस्था पनि खोलेका छन् । नाडामै आवद्ध तथा नाडाको पदाधिकारीमै रहेका व्यवसायीहरुको संलग्नतामा अर्को संस्था ‘नेपाल अटोमोवाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याकचर्स एसोसियसन’ खोलिएको हो । यस संस्थामा पनि नाडाकै कार्यसमितिमै रहेका तथा साधारण सदस्यहरु रहेका व्यवसायी आवद्ध छन् । नाडाका उपाध्यक्ष पुस्कर ओझाले नाडाजस्तै अर्को संस्था स्थापना भएको जानकारी दिए । उनका अनुसार नयाँ संस्थामा दुई पाँग्रे चारपाँग्रे गाडी, मोटरसाइकल र स्कुटर व्यवसायीहरु आवद्ध छन् । नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याकचर्स एसोसियसन’ दर्ता पनि भइसकेको छ । संस्था दर्ता तथा अन्य सबै प्रक्रिया पुरा भइसकेको बुझिएको छ । अब नयाँ संस्थाको औपचारिक घोषणा हुन बाँकी छ । छिट्टै धोषणा गर्ने तयारी भइरहेको उनीहरुको भनाइ छ । ‘देशको आयात सुधार गर्नका लागि यो संस्था खोलिएको हो । यस संस्थाले नाडासँग कुनै सरोकार राख्दैन, नाडामा भएकाहरुले पनि नाडा छोड्नु पर्दैन, एउटा संस्था वा व्यक्तिले दुवै संस्थामा आवद्ध हुन पाउने व्यवस्था गरेका छौं । धेरैले नयाँ संस्था संस्था स्थापना हुुनुलाई नाडा विभाजनको संज्ञा दिएका छन् । अधिकांश अटो व्यवसायीमाझ पनि सोही किसिमको सन्देश प्रवाह भएको छ । तर, ओझा भने यो विभाजन नभई एकता भएको तर्क दिन्छन् । नयाँ संस्था जन्मिनु हामी एकता हुनु हो, विभाजन हुनु होइन, यसले देशको आयातलाई थप सुधार हुन्छ, अटो व्यवसायीबीच मनमुटाव भएर नयाँ संस्था खोलिएको होइन ।
नयाँ संस्थामा युनाइटेड ट्रेडर्स, ओमोडा, हुन्डाई, लक्ष्मी इन्टरकन्टिनेन्टल, विशाल ग्रुप लगायत आवद्ध छन् । नयाँ संस्थाको अध्यक्ष टोयोटाको आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइडेट ट्रेडर्स सिण्डिकेटकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य बन्ने चर्चा छ । नयाँ संस्थाको उपाध्यक्ष किया गाडीको आयातकर्ता कन्टिनेन्टल ट्रेडिङका अध्यक्ष सुहृद घिमिरे बन्ने तयारी रहेको बुझिएको छ । नयाँ संस्थामा ठूला अटो व्यवसायी अञ्जन श्रेष्ठ, शेखर गोल्छा, शौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, निराकार श्रेष्ठ, सन्दिप शारडा, गौरव शारडा पनि संलग्न हुने बुझिएको छ । यस्तै, निकुञ्ज अग्रवाल, यमुना श्रेष्ठ, निशान ढकाल, आकाश गोल्छा, क्याबिनेट श्रेष्ठलगायत नयाँ संस्थामा आवद्ध हुनेछन् ।
नयाँ संस्थाको अध्यक्ष वैद्य पूर्वमिस इण्डिया हुन् । उनले सन् १९९१ मा मिस इण्डिया प्रतियोगिता जितेकी थिइन् । उनी सुरज वैद्यकी श्रीमती हुन् । नाडाकै वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा अर्को संस्था खोल्नु कुनै आपत्ति नभएको बताउँछन् । ‘यो सामान्य कुरा हो, यस्ता नयाँ संस्थाहरु खडा भइरहन्छन् । यो कुनै नौलो कुरा होइन, अझै विद्युतीय गाडीको पनि नयाँ संस्था खोल्न सकिन्छ । अटो व्यवसायीहरुले भारतमा पनि यस्तै संस्था रहेकोले नेपालका पनि आवश्यक रहेको तर्क दिइरहेका छन् । गोल्छाले नाडामा अहिले सबैले मिलेर काम गरिरहेको र आगामी दिनमा पनि जुनसुकै संस्था खोलिए पनि नाडालाई कुनै प्रभाव नपर्ने धारणा राखे । नाडाभित्र विभिन्न समस्याहरु रहेको कारण नयाँ संस्था खोल्नुपर्ने बाध्यताहरुको एक व्यवसायीले बताए । उनका अनुसार सवारी उद्योग स्थापना गर्ने, खुल्ला सिमानाबाट हुने अवैध आयातलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ नयाँ संस्था खोलिएको हो ।