थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गरी पानी सुचारु गराउन मन्त्रीको निर्देशन
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ स्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी सुचारु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षती भएको खबर पाउनासाथ मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मगरी नागरिकलाई शुद्ध पानी वितरण गर्न निर्देशन दिएका हुन् । मन्त्री यादवले भने, ‘हाल म नेपाल र भारत सरकारबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु । तथापि, मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी सुचारु गर्न निर्देशन दिइसकेको छु ।’
यसैगरी मन्त्री यादवले पाइप फुटेको घटनाको विषयमा छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल जाने सडकमा पाइप फुट्दा सर्वसाधारणलाई परेको असुविधाप्रति म गहिरो दु:ख व्यक्त गर्दछु । सो घटनाका विषयमा छानविन गर्छौँ ।’