नीतिगत सुधारका लागि महासंघले निरन्तर पैरवी गर्छः अध्यक्ष ढकाल

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा केही गर्नका लागि लगानीमैत्री वातावरण आवश्यक भएको उल्लेख गर्दै नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर जारी रहने बताएका छन् । महासंघ अर्न्तगतका विभिन्न वस्तुगत संघहरुका नवनिर्वाचित पदाधिकारीका लागि सोमबार महासंघमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले यस्तो धारणा राखे । उनले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको र ती सम्भावनाहरुलाई अवसरमा बदल्न सोही अनुरुपको वातावरण आवश्यक भएकोमा जोड दिए । ‘हामीकहाँ हरेक विषयलाई नकारात्मक दृष्टिकोणबाट हेर्ने अभ्यास छ’ उनले भने ‘सकारात्मक दृष्टिकोणबाट हेर्दा स्वदेशमा पनि थुप्रै सम्भावनाहरु छन् । ती सम्भावनाहरुबाटै हामीले स्वदेशमा रोजगार सिर्जना गर्न सक्छौं ।’सानो–सानो लगानीबाट पनि स्वदेशमा पूँजी निर्माण गर्न र त्यो पूँजी परिचालनबाट देशमा पूर्वाधारको विकास गर्न सकिन्छ भनेर महासंघको नेतृत्वमा १० अर्ब पूँजीको लिमिटेड कम्पनी स्थापना गरि काम भईरहेको समेत उनले जानकारी दिए । अध्यक्ष ढकालले महासंघको पछिल्लो विधान संशोधनले वस्तुगतसंघबाट महासंघमा प्रतितिधित्व गर्नका लागि थप अवसर सिर्जना गरेको बताए । महासंघका वस्तुगत परिषद्तर्फका उपाध्यक्ष हेमराज ढकालले महासंघले वस्तुगत संघहरुका क्षेत्रगत समस्याहरुलाई सम्बोधन गर्न महासंघले निरन्तर पहल गरिरहेको बताए । महासंघका उद्योग उपाध्यक्ष सुरकृष्ण वैद्यले अर्थतन्त्र चलायमान बनाउन र देशमा रोजगारी वातावारण सिर्जनाको लागि महासंघले सकृय रुपमा भूमिका निर्वाह गरेको बताए । यसैगरी महासंघका एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले देशको आर्थिक विकासका लागि अर्थतन्त्र चलायमान हुन आवश्यक रहेको उल्लेख गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि वस्तुगत संघहरु थप सकृय रहनु पर्ने बताए । त्यस अवसरमा अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा महासंघले तयार गरेका वस्तुगत संघहरुका लागि कार्य सञ्चालन विधि र कार्यस्थलमा आधारित तालिम सञ्चालन निर्देशिकाको विमोचन समेत गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *