ज्योति मिर्मिरे सामुहिक साकोस २५औं वर्षमा प्रवेश
काभ्रे । पनौतिमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था २५औं वर्षमा प्रवेश गरेको छ । २५ औं बर्ष प्रवेश गरेको अवसरमा संस्थाले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । संस्थाको मुख्य कार्यालयमा संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता र भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै मन्त्री अधिकारीले सविधि विपरीत गलत क्रियाकलाप गर्ने सहकारी सञ्चालकसमेतको सम्पत्ति जफत गरेरै भए पनि पीडितको बचत रकम फिर्ता गर्ने बताए । समस्याग्रस्त सहकारी समाधान समिति तथा सहकारीे विभागले सहकारीको समस्या समाधानार्थ काम गरिरहेको मन्त्री अधिकारीले बताए । केही नमिलेका विषयलाई प्रतिस्थापन विधेयकले सम्बोधन गर्नेसमेत उनले जनाए । केही महिनामै ६ हजार ६ सयभन्दा बढी बचतकर्ताको रकम फिर्ता गराइसकेको र अब छिट्टै केही बचतकर्ताको रकम फिर्ता गर्ने चरणमा रहेको उनले जानकारी दिए । कार्यक्रममा उत्कृष्ट शैक्षिक व्यक्तित्व रामप्रसाद अधिकारी, विशिष्ट सदस्य सम्मान अन्तराष्ट्रिय स्वर्णपदक विजेता केशव थापा, उत्कृष्ट सदस्य सम्मान जयराम तिमल्सिना, दीर्घसेवा पदकबाट कर्मचारी सुनिता हुमागाइ र साधुराम थापा, संस्थाका छोराछोरीमध्ये एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, पुर्व कर्मचारी, जेष्ठ सदस्य, पुर्व सञ्चालक र संस्थापक सदस्यलगायत ३५७ जनालाई विभिन्न विधामा सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेत, वागमती प्रदेश वचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष जिवस खड्का, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठलगायतले शुभकामना मन्तब्य राखेका थिए । करिब २१ हजार सदस्य रहेको संस्थाले ६ वटा संस्था एकीकरण गरी कारोबार गरिरहेको संस्थाका अध्यक्ष सापकोटाले जानकारी दिए । उनले हाल विभिन्न ८ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको बताए । सदस्यहरुको आर्थिक् तथा सामाजिक रुपान्तरणमा सहकारीले उल्लेख योगदान गरेको उनको भनाई छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।