दोस्रो राष्ट्रिय जुनियर फुल–कन्ट्याक्ट कराँतेमा वाग्मती च्याम्पियन
काठमाडौं । दोस्रो राष्ट्रिय जुनियर फुल–कन्ट्याक्ट कराँते प्रतियोगितामा वाग्मती प्रदेश च्याम्पियन भएको छ । प्रतियोगितामा ६ स्वर्णपदक जित्दै वाग्मती विजेता भएको हो । पाँच स्वर्ण जितेको कर्णाली प्रदेश उपविजेता भयो । तीन स्वर्णसहित मधेस प्रदेश तेस्रो भयो । च्याम्पियन टिमलाई नगद २५ हजार रुपैयाँ प्रदान गरियो । उपविजेतालाई १५ हजार, तेस्रो भएको टिमलाई १० हजार र चौथोलाई पाँच हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको पाको नेपाल क्योकुसिन कराते डो–संघकी नेपाल ब्रान्च चिफ सन्जु महर्जनले जानकारी दिइन् ।
पाको नेपाल क्योकुसिन कराँते डो–संघले दोस्रो राष्ट्रिय जुनियर फुल–कन्ट्याक्ट कराँते च्याम्पियनसिप आयोजना गरेको हो । काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण विनायक स्कुलको प्रांगणमा आयोजित प्रतियोगितामा महिला र पुरुषतर्फ १४ तौल समूहमा प्रतिस्पर्धा भएको थियोे । दुईदिने प्रतियोगितामा काठमाडौंसहित वाग्मती, कोसी, मधेस र कर्णाली प्रदेशबाट २६० जुनियर खेलाडीको सहभागिता थियोे ।