एसइईको सम्पूर्ण तयारी पूरा
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिएका छन् । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलका अनुसार यस बर्ष पाँच लाख १४ हजार ७१ विद्यार्थीले परीक्षा दिदै छन् । गतवर्षको एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा ४९ हजार २८६ जना बढी विद्यार्थी सहभागी हुदै छन् । यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् ।
परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने मापदन बनाइएको छ । यस एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरिएको छ । काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ । यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् ।
यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने तालिका रहेको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।