८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि
काठमाडौं । महिला उद्यमी महासंघ नेपालले ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही चैत्र १४ देखि १८ सम्म ललितपुरको हेरिटेज गार्डेनमा व्यापार मेला आयोजना गर्न लागेको महासंघका अध्यक्ष शोभा ज्ञवालीले जानकारी गराइएका हुन् । उनले व्यापार मेलामा ५,५०० भन्दा बढि महिला उद्यमीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरेको पनि बताइन् । यस्तै, उनले महासंघले “स्वदेशी खाऔं, स्वदेशी लगाऔं र महिला उद्यमशिलतालाई प्रवद्र्धन गरौं” भन्ने नारा सहित यसले अर्थतन्त्रका सुधार ल्याउने पनि विश्वास लिएको पनि बताईन् । उनले भनिन्, ‘नियमित रुपमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्नुको प्रमुख उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीहरुका उत्पादनहरुको प्रवद्र्धन र बजारीकरण गर्न सहयोग पुग्ने र महिला उद्यमशिलताको विकासबाट आन्तरिक उत्पादन बृद्धि गरी निर्यात प्रवद्र्धनमा सहयोग मार्फत नेपालको अर्थतन्त्र सुधारमा सहयोग पुर्याउनु हो ।
५ दिनसम्म सञ्चालन हुने मेला अवधिमा महिला उद्यमी महासंघ नेपालको ७२ वटा जिल्ला संघहरुबाट महिला उद्यमीहरुको सहभागिता रहनेछ । मेला स्थलमा जम्मा १४४ वटा विक्रि स्टलहरु राखिनेछन् । जसमा २ वटा प्याभिलियनहरु, ५८ वटा महिला उद्यमी जिल्लासंघबाट सहभागि हुने महिला उद्यमीहरु र बाँकी ८२ वटा स्टलहरु स्वदेशी तथा विदेशी महिला उद्यमीहरुलाई उपलब्ध गराईनेछ । मेला अवधिमा नेपाल भरि छरिएर रहेका महिला उद्यमीहरुले उत्पादन गरेका कृषि जन्य वस्तुहरु, हस्तकलाका सामाग्रिहरु, खाद्य सामाग्रिहरु, अन्तर्राष्ट्रिय वस्तुहरु, सेवामूलक वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा विक्रि वितरण हुने भएको छ । मेला अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रका महिला उद्यमीहरु र उनीहरुका उत्पादन सहितको सहभागिता हुने भएकोले नेपालका महिला उद्यमीहरुले उपयोग गरेका प्रविधिहरु, बजारीकरणको लागि अवलम्वन गरेका उपायहरु जस्तै वस्तुको लेवलिङ्ग, प्याकेजिङ्ग, ब्राण्डिङ्ग लगायतका विषयमा जानकारी लिन पाउने छन् ।