थाइल्याण्ड भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुलेका छन्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताएका छन् । बाह्रखरी अनलाइनले आज गोकर्णमा आयोजना गरेको ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक गोष्ठी’मा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यासायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताएका हुन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनबाट स्वदेश फर्किएलगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४० प्रतिशतको हाराहारीमा युवा जनसङ्ख्या रहेको स्थितिमा भएका स्रोत साधनको प्रयोग गरे दक्ष जनशक्ति तयार गर्दै विकासको गति तीव्र बनाउनुपर्ने बताए । ‘देशमा काम गर्न नदिने र छेक्ने मनोदशा भएमा विकासको गति रोकिन्छ । तीव्ररुपमा काम हुनका लागि सबैमा देशभक्ति हुनुपर्छ । हामीले राम्रा कानुन बनाइ कानुनको सहीरुपमा कार्यान्वयन हुनुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘जनताको सरकारसँग भेट हुनेबित्तिकै बैरभाव हुने स्थिति अन्त्य गर्नुपर्छ । हामीले सुशासन र सेवा प्रवाहका क्षेत्रमा प्रयास गरिरहेका छौँ । सम्भावनाहरु धेरै राम्रा छन्, थाइल्याण्डको भ्रमणबाट पनि त्यो ढोकाहरु खुलेको छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *