पूर्वराजादेखि कांग्रेससम्म शासन सत्तामा बसेका तीनपुस्ते सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाऔँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेस भोजपुरको दोस्रो जिल्ला सम्मेलनमा महामन्त्री गगन थापाले पूर्वराजादेखि कांग्रेससम्म शासन सत्तामा बसेका सबैको तीनपुस्ते सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् । महामन्त्री थापाले नेता परोस् कि नाता परोस् नहेरी सम्पत्ति छानबिन गर्नुपर्ने बताए । उनले शक्तिशाली आयोग बनाएर छानबिन मात्र नभएर कारबाही समेतको अधिकार दिनुपर्ने बताए । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । आयोगले अनुसन्धान गर्छ, अनुसन्धान गरेको विषय छापामा ल्याउँछ । वर्षौँसम्म तलाइँ थुन्दिउ तलाइँ थुन्दिउ भनेर बिताउँछ, महामन्त्री थापाले भने, एउटा शक्तिशाली आयोग बनाउँ । शक्तिशाली आयोगलाई ०४६ सालपछि शासनसत्तामा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने अधिकार दिऔँ । उनले ०४६ यताका शासन सत्तामा बसेका सबै व्यक्तिहरूको सम्पत्ति र आयव्यय हेरेर छानबिन गरी कारबाही गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताए ।

०४६ सालपछि नेपालमा कांग्रेस, एमाले, माओवादी, राप्रपा मात्र नभएर पूर्वराजाले पनि शासन गरेको भन्दै सबैमा छानबिन गर्नुपर्ने बताए । “०४६ पछाडि नेपालमा कांग्रेसले पनि शासन गर्‍यो, एमालेले गर्‍यो, राप्रपाले गर्‍यो, माओवादीले गर्‍यो हुँदा हुँदा पूर्वराजाले पनि गरे, नयाँ भनिएकाहरू पनि शासन सत्तामा बसिसकेका छन्, थापाले भने, शक्तिशाली आयोगबाट यो देशमा लाभको पदमा बसेका सबै मानिसको तीनपुस्ते सम्पत्ति हेरौँ, आयव्यय हेरौँ । उनले कांग्रेसका जति मान्छे पर्छ परून् भन्दै भ्रष्टाचारीको भारी पार्टीले बोक्न नसक्ने बताए । उनले ६ महिना, एक वर्ष वा त्योभन्दा बढी समय लागे पनि छानबिन भने अघि बढाउनुपर्ने बताए । सम्पत्ति हेरौँ, आयव्यय हेरौँ, विभिन्न पदमा बस्दा गरेको निर्णय हेरौँ । त्यसमा कांग्रेसको कति मान्छे पर्छ परोस्, थापाले भने, त्यसको भारी किन बोक्ने हामी, जोसुकै परोस् । नेता परोस्, नाता परोस् जोसुकै परोस् । त्यसको भारी हामी बोक्दैनौँ भन्ने कुरा नेपाली कांग्रेसले भन्नुपर्छ । उनले कसैले गरेको गलत कामबाट बाँकी सबै थिच्चिने वा भाग्ने काम गर्न नसक्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *