प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरु बुझाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझावपत्र हस्तान्तरण गरेका हुन् । एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिएपनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिएको महासचिव पोखरेलले अवगत गराए ।
उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरु पनि कार्यान्वयनका आउन बाँकी रहेको आग्रह गरे ।