तिनकुने घटनामा साढे ४ करोडको बीमा दावीः चार कम्पनीले दिए भुक्तानी
काठमाडौं । चैत १५ गते काठमाडौं उपत्यकाको तिनकुने घटनामा भएको क्षतिमा बीमा कम्पनीहरुले साढे ३३ लाख रुपैयाँ भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको बैशाख ३ गते सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । उक्त घटनामा निर्जीवन बीमा कम्पनीहरुमा कुल ४ करोड ५९ लाख ६२ हजार रुपैयाँ बराबरको दावी पेश भएको छ । हालसम्म चार कम्पनीहरुले मात्रै ३३ लाख ३५ हजार ८ सय ५३ रुपैयाँ बराबरको १३ वटा मात्रै भुक्तानी दिएका छन् । कम्पनीहरुले ८ वटा सम्पत्ति बीमालेख अन्तर्गका ३२ लाख ४२ हजार, मोटर बीमा (निजी) तर्फ ९२ हजार र विविध अन्तर्गत १ हजार १ सय ३० रुपैयाँ भुक्तानी दिएका हुन् । शिखर इन्स्योरेन्सले शतप्रतिशत दावी भुक्तानी दिएको छ । कम्पनीमा कुल ४ लाख ९८ हजार २ सय १३ रुपैयाँ बराबरको ५ वटा मात्रै दावी पेश भएको थियो । कम्पनीले छोटो अवधिमा नै शतप्रतिशत दाबी भुक्तानी गर्ने सफल भएको हो । यता, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २६ लाख ७ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको छ ।
कम्पनीमा कुल ७६ लाख ७० हजार रुपैयाँ बराबरको ८ वटा मात्रै दावी पेश भएको थियो । यस्तै, सगरमाथा लुम्बिनीले ७५ लाख ४९ हजार रुपैयाँ बराबरको ७ वटा दावी पेश भएकोमा २ लाख २ हजार र आइजीआई प्रुडेन्सियलले १७ लाख ३८ हजार रुपैयाँ बराबरको ६ वटा दाबी पेश भएकोमा २८ हजार ३०० रुपैयाँ भुक्तानी दिएको छ । हालसम्म आठ वटा कम्पनीहरुले भने दावी भुक्तानी दिएका छैनन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा सबैभन्दा बढी रुपैयाँको दावी परेको छ । प्रकाशित विवरण अनुसार कम्पनीमा एक करोड २७ लाख रुपैयाँका दुई वटा बीमा दावी परेका छन् । प्राधिकरणका अनुसार नेको इन्स्योरेन्समा ४ वटा बीमा दावी बराबर ५२ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्समा १ दावी बराबर ४७ लाख ५० हजार रुपैयाँ, नेशनल इन्स्योरेन्समा ११ वटा दावी बराबर २० लाख ७५ हजार रुपैयाँको बीमा दावी परेको छ । साथै हिमालयन एभरेष्ट इन्स्योरेन्समा २२ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा १७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्स्योेरेन्समा आठ लाख ७१ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्समा १ लाख १० हजार रुपैयाँको मात्र बीमा दावी परेको छ ।