लिङ्देनसहितका सात नेता कार्यकर्ता रिहा
काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई रिहा गरेको छ । नियन्त्रणमा लिइएको सातैजनालाई छाडिएको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिए । सिंहदरबार परिसरबाट पक्राउ परेका उनीहरूलाई झन्डै चार घण्टापछि छाडिएको हो । उनीहरूलाई जिल्ला प्रहरी परिसरको कार्यालय भद्रकालीबाट छाडिएको हो ।
निषेधित क्षेत्रमा प्लेकार्ड प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितलाई नियन्त्रणमा लिएको थियो । यसैगरी, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि पक्राउ परेका थिए । निषेधित क्षेत्र तोडेर गिरफ्तारी दिने उद्देश्यसहित राप्रपाले आज काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको थियो ।