वाणिज्य बैंकहरुको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक
काठमाण्डौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार वाणिज्य बैंकहरुको खुद नाफा अघिल्लो वर्षको तुलनामा सामान्य मात्र बढेको देखिएको छ । २० वाणिज्य बैंकहरुले चैत मसान्तसम्म २७८ अर्बले लगानी बढाउँदा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफाको तुलनामा १.४० प्रतिशत मात्र वृद्धि हो । समीक्षा अवधिमा ११ वटा बैंकले नाफा बढाएका छन् भने ९ वटा बैंकको नाफा घटेको छ।
सबैभन्दा धेरै नाफा वृद्धिदर देखाउने बैंक नेपाल बैंक लिमिटेड रहेको छ । अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ५ लाख रुपैयाँ नाफा कमाएको नेपाल बैंकले यो वर्षको सोही अवधिमा २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा कमाउँदै २,०३२.८० प्रतिशतको वृद्धिदर हासिल गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ३८.६१ प्रतिशत र ग्लोबल आइएमई बैंकले ३७.१२ प्रतिशतले नाफा बढाएका छन् । लक्ष्मी सनराइज बैंकको नाफा भने केवल २.२४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नाफा घटेको बैंक एनआईसी एशिया रहेको छ । बैंकले अघिल्लो वर्ष १ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएकोमा यो वर्ष १५ करोड ६७ लाखमा सीमित रहँदा नाफा ९१.८१ प्रतिशतले घटेको हो । हिमालयन बैंकको नाफा ७४.३३ प्रतिशतले र कुमारी बैंकको नाफा ७२.८५ प्रतिशतले घटेको छ । रकमको हिसाबले भने नबिल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले तेस्रो त्रैमाससम्ममा ५ अर्ब ५ करोड रुपैयाँ नाफा कमाउँदै अग्रता लिएको हो । दोस्रो र तेस्रो स्थानमा नेपाल इन्भेष्टमेण्ट बैंक र ग्लोबल आइएमई बैंक रहेका छन्, दुबैले साढे ४ अर्बभन्दा बढी नाफा कमाएका छन् ।