शिक्षक आन्दोलनलाई धैर्यका साथ निरन्तरता दिन अपिल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले विद्यालय शिक्षा ऐनको मागमा जारी आन्दोलनमा शिक्षकहरूलाई धैर्यतापूर्वक संघर्ष जारी राख्न अपिल गरेका छन् ।
नेकपाको ७७औं स्थापना दिवस कार्यक्रममा बोल्दै प्रचण्डले पटकपटक भएका वार्ता र सम्झौता असफल भएका कारण यसपटक आन्दोलन नछोड्न आग्रह गरे । उनले भने, “पटकपटक धोका भएको छ, यो पटक त्यो स्थिति हुन दिनुहुन्न।“ उनले एमाले नेतृ तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई सरकारले देखाएको गैरजिम्मेवारीपनको नयाँ प्रमाणसमेत बताए ।
साथै, शिक्षकहरूको माग पुरानो सहमतिको कार्यान्वयन मात्रै भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक भूमिका आन्दोलन लम्बिनुको मुख्य कारण रहेको टिप्पणी गरे ।