सांसद गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ भनेपछि…
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका छन् ।
आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सांसद गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका हुन् । गुरुङले राजसंस्थालाई २०६२/०६३ को जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै–लखेट्दै लगेर ठूलो भीरबाट खसालिसकेको बताउदै अहिले सिनो बोकेर हिँड्नेको काँध गन्हाउने टिप्पणी गरे ।
उनले भने- ‘मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर यो त जिउँदै छ भनेर आउँदैमा हामी पनि फेरि लहलहैमा लागेर यो त साँच्चिकै जिउँदै हो कि भनेर मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हो कि जस्तो मलाई लागेको छ । मरिसकेको बाघको सिनो बोकेर आउनेको काँघ त गन्हाउँछ नै । तर, हामीले सिनोलाई लात्तले हान्दा हाम्रो खुट्टा पनि त गन्हाउँछ होला नि त । त्यसैले यतापटी ध्यान दिएर आफ्नै खुट्टालाई दुर्गन्धित बनाउनतिर हामी लाग्न हुँदैन । कर्म, व्यहार, दृष्टिकोण र उद्देश्य र गन्तव्यले यो व्यवस्थालाई सुदृढ गर्दै लाने हो ।’