राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलन अन्त्य नभई राजावादी समूह नफुट्ने दाबी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलन अन्त्य नभई राजावादी समूह नफुट्ने दाबी गरेका छन् ।
बिहीबार राजधानीमा राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेबाट जनआन्दोलन घोषणा गरेको छ । उक्त घोषणालगत्तै सम्बोधन गर्ने क्रममा लिङ्देनले भनेका छन्, ‘हामीले हाम्रो आन्दोलन भनौँला, यो सिंगो देशवासीको आन्दोलन हो । यो आन्दोलन निष्कर्षमा नपुगी हामी छुट्ने छैनौँ ।’ उनले आफूहरूले घोषणा गरेको आन्दोलन कुनै पार्टी र समूहको नभई सिंगो देशको भएको जिकिर गरेका छन् ।
‘यो आन्दोलन कुनै पार्टी र समूहको लागि होइन । कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नका लागि होइन । यो देशको भविष्य बनाउनका लागि हो,’ लिङ्देनले भने । उनले गणतन्त्रवादीहरूलाई पनि आफूहरूको आन्दोलनमा सहभागी हुन अपिल गरे ।