स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई
काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप लिग २ सिरिजका लागि स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई गरिएको छ ।
बुधबार मुलपानीमा भएको बिदाई कार्यक्रममा कप्तान रोहित कुमार पौडेलबाहेक अरु सबै खेलाडी उपस्थित थिए । रोहित पौडेल कक्षा १२ को परीक्षामा सहभागी भएका कारण बिदाई कार्यक्रममा उपस्थित हुन नसकेको क्यानले जनाएको छ । त्यस्तै मुख्य प्रशिक्षक स्टुआर्ट ल पनि आजको कार्यक्रममा अनुपस्थित रहे । उनी पारिवारिक कारणले हाल युके गएकाले अनुपस्थित भएको क्यानले जनाएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिम आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्ने छ भने कप्तान पौडेल परीक्षा सकेर त्यसतर्फ जाने क्यानले जानकारी दिएको छ ।
नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ । नेपाली टिम: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी ।
त्यस्तै त्रिकोणात्मक टी- २० सिरिज खेल्ने टिममा किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम सहभागी हुने छन् ।