जीवनमा कुनै एउटा मात्र आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै ‘राजीनामा दिनेछु : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्र आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै ‘राजीनामा दिने बताएका छन् । शनिबार (जेठ १०) साँझ सिंहदरबारमा सञ्चारकर्मीसँग उनले यस्तो घोषणा गरेका हुन् । आफ्ना विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको उनले जिकिर गरे । उनले भिजिट भिसाको विषय मात्र नभई आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा एउटै मात्र आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरे राजनीतिबाटै अलग हुने बताए । आफूविरुद्ध प्रश्न उठाइएकाले यही जेठ १३ गते बस्ने प्रतिनिधिसभा बैठकमा समय माग गरेको र त्यही बेला पूरा जानकारी गराउने उनले उल्लेख गरे । गृह मन्त्रालयअन्तर्गत लाखौँको संख्यामा कर्मचारी रहेका र उनीहरूमाथि प्रश्न उठाइँदा मन्त्रीले राजीनामा दिँदै जान सम्भव नहुने उनले बताए ।

मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गर्‍यो भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु । १३ गते सम्मानित सदन प्रतिनिधिसभामा बोल्नका लागि मैले समय माग गरिसकेको छु, अरू विस्तृत कुरा म प्रतिनिधिसभामा आग्रह गर्दछु । गृह मन्त्रालय यत्रो ठूलो मन्त्रालय छ, लाखौँलाख कर्मचारी छ । त्यसमा संवैधानिक निकाय अनुसन्धान गर्नका लागि सक्षम निकायले कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु गर्न सक्छ । कुनै पनि कर्मचारीका माथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? आजसम्म त्यस्तो भएको छ ? मेरा विरुद्ध राजनीतिक रूपले, नियोजित रूपले, षड्यन्त्रमूलक ढंगले झुटो प्रचारबाजी भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *