कर्मचारीले गल्ती गरेको आधारमा गृहमन्त्रीको राजीनामा माग्नु गलत- नेता कृष्णप्रसाद सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु गलत भएको बताएका छन् । उनले कुनै एकजना कर्मचारीले गल्ती गरेको आधार गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताएका हुन् ।
आज आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने तर्क गरे । भिजिट भिषा प्रकरणमा नाम जोडिएपछि गृहमन्त्री लेखकको पार्टीभित्रैबाट समेत नैतिकका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिइरहेका बेला नेता सिटौलाले भने बचाउ गरेका हुन् ।
यसअघि शनिबार विराटनगरमै अर्का कांग्रेस नेता डा. शेखर कोइरालाले भने गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए । तर, नेता सिटौलाले विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए ।