देउवाको जिल्लामा माधव नेपालले गर्न खोजेको के हो ?

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्तारुढ गठबन्धनको बैठकमा सहभागी हुने गरेका छन् । आइतबारदेखि गठबन्धनको चुनावी सभामा नेपालको उपस्थिति रहँदै आएको छ । तर, सत्तारुढ गठबन्धनकै नेतृत्वदायी दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध एकीकृत समाजवादी खुलेर लागेको छ ।

देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले समेत देउवाको जितलाई सहज बनाइदिन आफ्नो उम्मेदवारी फिर्ता लिएका बेला माधव नेपालको पार्टी भने विपक्षी कांग्रेस बिपीसँग मोर्चाबन्दी गरेको छ ।
शनिबार दुवै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा संयुक्त रूपमा जाने जनाएका हुन् । प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कांग्रेस बीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । उनी लामो समयसम्म कांग्रेस सभापति देउवाका सहयोगी बनेर राजनीतिमा स्थापित भएका व्यक्ति हुन् ।

सत्ता गठबन्धनबाट असन्तुष्ट एकीकृत समाजवादीका नेता डा। तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टी परित्याग गरे पनि जोशीलाई समाजवादी जिल्ला कमिटीले समर्थन गरेको छ। जसअनुसार समाजवादीले कांग्रेस बीपीसँग तालमेल गरेको हो। समाजवादी र कांग्रेस बीपीबीच ६ बुँदे चुनावी समझदारी भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कवीन्द्र विष्टले जानकारी दिए।

बीपी कांग्रेसले केन्द्रमा मल्ल, प्रदेश ‘क’ मा एमालेसँग तालेमल गर्ने र प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार जोशीलाई सघाउने दाबी गरेको छ । तर, सो पार्टीको दाबीबारे एमाले र एकीकृत समाजवादीले केही बताएका छैनन् । पार्टी सभापतिकै जिल्लामा माधव नेपालको पार्टीले विपक्षी गठबन्धनविरुद्ध मोर्चाबन्दी गरेपछि कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *