देउवाका ‘दुई सारथी’मध्ये एकले हारे अर्कोले झिनो मतले जिते

काठमाडौं । अन्तिम समयसम्म कडा टक्कर बेहोरिरहेका सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर चारबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नेता जगदीश कुशीयतलाई झिनो मत अन्तरले हराउँदै संसद्‌मा आफ्ना स्थान सुनिश्चित गरेका हुन्।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार कार्की विजयी भएका छन् । दुवैबीच अन्तिम समयसम्म निकै तीव्र प्रतिस्पर्धा चलेको थियो।उक्त क्षेत्रमा मतगणनाको क्रममा विवाद देखिएपछि निर्वाचन आयोगले हस्तक्षेप गरेको थियो र केही दिन मतगणना रोकिएको थियो।

सरकारमा रहेका कसले जिते कसले हारे

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की प्रधानमन्त्री देउवाका विश्वासपात्र मानिन्छन् । देउवाका अर्का विश्वासपात्र मानिने गृहमन्त्री बालकृष्ण खाँडले भने यसअघि नै पराजय बेहोरिसकेका छन्।

गृहजिल्ला रुपन्देही ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता खाँडलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले पराजित गरेका हुन् । बोहराले ३६,७१७ मत पाएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिएका थिए।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी अन्य कैयौँ मन्त्रीहरू पनि यस पटकको प्रतिनिधिसभा चुनावमा पराजित भएका छन् । वर्तमान सरकारका १५ मन्त्री र तीन राज्यमन्त्रीमध्ये ६ जनाले यसअघि नै हार बेहोरिसकेका छन्।

त्यसमा गृहमन्त्री खाँड र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सहितका नेताहरू छन्।

पराजित भएका अन्य अनुहारमा युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराज, खानेपानीमन्त्री उमाकान्त चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमार्फत् प्रधानमन्त्री देउवा छैठौँ कार्यकालका लागि निर्वाचित भएका थिए । उनको मन्त्रिमण्डलका जनार्दन शर्मा, नारायण खड्का, दिलेन्द्र बडू, देवेन्द्र पौडेल, मेटमणि चौधरी र शेरबहादुर कुँवरले यो निर्वाचनमा सफलता हासिल गरेका छन्।

बिहीबार अपरान्हसम्म १६२ निर्वाचन क्षेत्रको परिणाम आउँदा पहिलो हुनेले जित्ने प्रणालीमा नेपाली कांग्रेस पहिलो छ । दोस्रोमा रहेको एमालेले कांग्रेसभन्दा ११ सीटले पछि छ । विवादका कारण स्थगित भएको स्याङ्जा क्षेत्र नम्बर दुईको पछिल्लो मतगणनामा कांग्रेस महामन्त्री धनराज गुरुङले अग्रता कायम गरेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *