कांग्रेस नेताहरूको फेरिएको बोली, राष्ट्रपतिपछि सरकारमा हो ?

काठमाडौं । केही दिनयता नेपाली कांग्रेसका नेताहरूको बोली फेरिएको छ । केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मका नेताहरूको अभिव्यक्तिले कांग्रेसजन अलमलमा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि केही समय मौन बसेका कांग्रेस नेताहरूलाई अहिले दिनहुँ सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिन भ्याइनभ्याइ छ ।

कांग्रेस नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन भत्काउने प्रयास भइरहेको बताउँदै आएका छन् । डा.शेखर कोइरालाले त कांग्रेसबाट उठ्ने राष्ट्रपतिको उम्मेदवारलाई माओवादीले भोट हाल्ने दाबी गर्दै आएका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त सार्वजनिक रूपमै कांग्रेसले उठाउने व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार हुने बताउँदै आएका छन् । के आधारमा शर्माले उनलाई यस्तो भनेका हुन् भन्ने खुलेको छैन ।

कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालाले त केही समयअघि गृह मन्त्रालय लिएर भए पनि कांग्रेस सरकारमा सहभागी हुन सक्ने बताएका थिए । यो अभिव्यक्तिपछि कोइराला निकै विवादमा तानिएका छन् । उनको चौतर्फी आलोचना भइरहेको छ । यही बीचमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन् । नुवाकोटमा ‘‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका महतले जनताले कम रुचाएको दलले सत्ता सञ्चालन गर्दा जनपक्षीय काम हुन नसक्ने बताए ।

‘गठबन्धन गरेर एक आपसमा मत साटेर समृद्ध नेपाल निर्माणका लागि सहकार्य गर्‍यौँ । गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा कांग्रेस नै पुग्नुपर्ने हो’, महतले भने, ‘ठूलो दल भएको कांग्रेस सत्ता बाहिर हुनु अस्थिरताका कारण स्वाभाविक रुपमा लिएका छौँ । स्थायी राजनीतिक परिवेशको निर्माण र राजनीतिक स्थिरताका लागि केही दिनमै कांग्रेस सरकारमा पुग्ने भएकाले निराश हुनुहुन्न ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *