आखीर रविलाई प्रधानमन्त्री पद बाँड्यो कसले ?
काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बिहीबार सिंहदरबार पुगे । दुवै नेताबीच एक घन्टा कुराकानी भयो । नक्कली शरणार्थी प्रकरणमा आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीसहित अख्तियार प्रमुख प्रेमकुमार राई पनि तानिने भएपछि छट्पटाएका ओली प्रचण्ड भेट्न सिंहदरबार पुगेका थिए । उनले निर्दोष नेतालाई फसाउन नहुने भन्दै बचाउ गरेका थिए ।
प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले ओलीलाई प्रश्न गरे– ‘तपाईले त रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्नुभएछ नि सत्य हो ?’ ओलीले आफूले पनि समाचार पढेर थाहा पाएको प्रतिक्रिया दिए ।
शुक्रबार बिहान एमाले उपाध्यक्ष युवराज ज्ञवालीले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने हल्लैहल्ला मात्र हो भनेका छन् । एक रेडियोमा अन्तर्वार्ता दिँदै एमाले सरकार ढाल्ने खेलमा नलागेको बताए । ‘एमाले अस्थिरताको कारक बन्न चाहँदैन । सरकार ढाल्ने खेलमा लागेको छैन र लाग्नुहुन्न । अहिलेको अवस्थामा प्रधानमन्त्री र मन्त्री बाँड्दै हिँड्नु गलत हो । हाम्रा अध्यक्षले पनि होइन भनिसक्नुभएको छ । रवि लामिछानेजीलाई प्रधानमन्त्री बनाउने हल्लैहल्ला मात्र हो । त्यो बाटो लाग्नै हुँदैन,’ उनले भनेका छन् ।
एमालेका अध्यक्ष र उपाध्यक्षले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने हल्ला हो भनेपछि अहिले उनलाई प्रधानमन्त्रीको अफर कसले गरेको हो भन्ने चासो उत्पन्न भएको छ । कतिसम्म ओलीले प्रधानमन्त्रीको अफर गरेपछि रविले विभिन्न दलका शीर्ष नेतालाई भेटेर मोर्चाबन्दीमा लागेको समाचारसमेत आएका छन् ।
तर अंकगणित नै हेर्दा पनि रविको पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रचण्ड नेतृत्वको सरकार ढल्दैन । किनभने जसपा अध्यक्ष उपेन्द्र यादवलाई सांसद बनाउन अहिलेको सत्तारुण् गठबन्धनले निकै जोखिम मोलेका छन् । त्यसैले उपेन्द्र अहिलेकै गठबन्धनमा रहेमा प्रचण्डलाई १५५ सांसदको समर्थन कायमै रहिरहन्छ । सिके राउतको जनमत पार्टीले समर्थन फिर्ता लिएमा १४९ सांसदमा झर्छ ।

















