ओलीको पालामा धेरै भ्रष्टाचार, प्रधानमन्त्रीमाथि कारबाही गर्नुपर्ने माग
काठमाडौं । साढे तीन वर्षे केपी ओली शासनकालमा नेपालमा धेरै भ्रष्टाचार भएको र देशले धेरै वैदेशिक ऋण लिएको शाश्वत सत्य हो । उनकै पालामा यति काण्ड, ओम्नी काण्ड, कोरोनाको सामान खरिदमा भ्रष्टाचार, वाइडबडीमा भ्रष्टाचार उनकै पालामा भएको थियो । अहिले सार्वजनिक भएको नक्कली शरणार्थी प्रकरण पनि ओलीकै शासनकालमा उनकै गृहमन्त्री रामबहादुर थापा बादल हुँदा भएकाले प्रधानमन्त्री पनि मुछिएका छन् । त्यसैले अहिले ओलीमाथि पनि छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ ।
एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले नक्कली शरणार्थी बनाएर करोडौँ कुम्ल्याउने गिरोहमा एमाले अध्यक्ष ओलीको पनि संलग्न रहेको बताएका छन् । ओली नेतृत्वको तत्कालीन सरकारले संस्थागतरुपमै मन्त्रिपरिषदबाट यसबारे निर्णय गरेको दाबी गर्दै उनले त्यतिबेलाका प्रधानमन्त्री र गृहमन्त्रीमाथि समेत अनुसन्धान हुनुपर्ने उल्लेख गरेका छन् ।
‘उक्त कार्य स्वयं तत्कालीन नेपाल सरकारले नै संस्थागत रूपमा मन्त्रिपरिषदको बैठकले गरेको थियो । यसबाट प्रष्ट हुन्छ, स्वयं सरकार नै नेपालीलाई भुटानी बनाउने काममा लागि परेको देखिन्छ । यसैले तत्कालीन सरकारको प्रधानमन्त्री, गृहमन्त्रीसमेत कारवाहीका लागि योग्य हुनुहुन्छ । उहाँहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्दछ । नेपाली जनताहरूलाई जस्ताको तस्तै जानकारी गराउनुपर्दछ । पहिलो चरणको अनुसन्धानमा तत्कालीन मन्त्री, मन्त्रीका स्वकीय र उच्चपदस्थ कर्मचारीहरू तानिएका छन् । हिजो र आज शीर्ष नेतृत्व तहमा देखिएको भेटघाटले शीर्ष नेतृत्वसमेत संलग्नता रहेको सजिलै अनुमान लगाउन सकिन्छ,’ चौधरीले सामाजिक सञ्जालमा लेखेका छन् ।

















