एमालेको अडानपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्ता र प्रतिपक्षबीच कुरा मिल्न नसकेपछि शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले विशेष कारण देखाउँदै बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी मिति तोकिएको जनाएको छ ।

शुक्रबार सभामुख देवराज घिमिरेको आह्वानमा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा एमाले संसद् खुलाउन तयार नदेखिएको हो । एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा नदिएसम्म संसद् नखुल्ने अडान राखेका छन् ।

बैठकमा सभामुख घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर शनिबारसम्म सहमति गर्न आग्रह गरेका थिए । ‘संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याजसम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन ।

तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजीकरण गर्न म तयार छु । पर्सीसम्मा सहमति गर्नुहोला । आजको बैठक सूचना टाँसेर स्थगित गरौं,’ घिमिरेले भनेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठक आइतबारका लागि डाकिएको हो ।


भारतीय नागरिक सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक नयाँदिल्ली पुगेको प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिपछि एमाले आन्दोलित भएको हो । उसले संघीय संसदका दुवै सदन चल्न दिएको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *