निर्वाचनमा विपक्षीमाथि कति दमन हुँदो रहेछ देखे ओलीले, आज नेपाल फर्किदैँ

काठमाडौं । एमाले अध्यक्ष केपी ओली चुनावमा जनतामाथि कसरी दमन हुँदो रहेछ भन्ने घटनाको प्रत्यक्षदर्शी भएका छन् । उनी कम्बोडियाको निर्वाचनको पर्यवेक्षणका लागि त्यहाँ पुगेका थिए । झन्डै एक साताको बसाइँमा सत्तारुढ दलले नागरिकमाथि गर्ने दमनको उनले अवलोकन गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आज स्वदेश फर्कंदै छन् । कम्बोडियामा आइतबार चुनाव भएको थियो । चुनावको ओलीले पर्यवेक्षण गरेका थिए । उनी सिंगापुर एअरलाइन्सको उडानबाट सोमबार राति १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । कम्बोडियाको निर्वाचनमा विपक्षीमाथि व्यापक दमन गरिएको आरोप लागेको छ । प्रधानमन्त्री हुन सेनको कम्बोडियन पिपुल्स पार्टीले अत्यधिक बहुमत ल्याएको बताइएको छ ।

कुल मतादातामध्ये ८४ दशमलव ६ प्रतिशत मतदान भएको र प्रधानमन्त्रीको दललाई ८० प्रतिशत मत प्राप्त भएको जनाइएको छ । प्रधानमन्त्री हुन सेन सन् १९८५ देखि लगातार सत्तामा छन् । पूर्व खमेर रुज गुरिल्ला हुन सेनले अब आफ्ना जेठा छोरा तथा वर्तमान सेना प्रमुख हुन मानेटलाई सत्ता हस्तान्तरण गर्ने योजना बनाएको जनाइएको छ ।

पश्चिमा मुलुक तथा सञ्चारमाध्यमहरुले कम्बोडियाको मतदान र यसको परिणामले लोकतन्त्रको खिल्ली उडाएको प्रतिक्रिया दिएका छन् । कम्बोडियाको निर्वाचनमा पश्चिमा मुलुकबाट कुनै पनि पर्यवेक्षक टोली सहभागी भएनन् । नेपालका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पाकिस्तानसहित केही अफ्रिकी मुलुकका टोलीबाट मतदानको पर्यवेक्षण भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *