सभामुखले डाके शीर्ष नेताको बैठक
काठमाडौं । संघीय संसदमा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले भोलि (सोमबार) राजनीतिक दलका शीर्ष नेतृत्वसँग छलफल गर्ने भएका छन्।
प्रतिनिधिसभाको बैठक बस्नुभन्दा एक घण्टाअगाडि दिउँसो १२ बजे दलहरुका शीर्ष नेतृत्वसँग सभामुख घिमिरेले छलफल गर्न लागेका हुन्।
आइतबार राजनीतिक दलहरुका प्रमुख सचेतक र सचेतकहरुसँग भएको छलफलमा संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा एमाले तयार नभएपछि सभामुख घिमिरे शीर्ष नेतृत्व तहमै छलफल गर्ने निष्कर्षमा पुगेका हुन्।
सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि संसदको बैठक चल्न दिएको छैन।
प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची भने आज सार्वजनिक भईसकेको छ। सम्भावित कार्यसूचीमा एमाले सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको पत्र सभामुख घिमिरिले पढेर सुनाउनु हुने उल्लेख गरिएको छ।
भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा कानुन‚ न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदनसमक्ष प्रस्तुत गर्ने उल्लेख छ।
शिक्षा‚ विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘नेपाल विश्वविद्यालय विधेयक’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्तुत गर्ने कार्यसूची रहेको संघिय संसद सचिवालयले जनाएको छ।
















