को अपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा हसना भास्तिपुर साकोसका महर्जन चयन
काठमाण्डौं । काठमाडौंका सहकारी व्यवस्थापकहरूको साझा मञ्च को अपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा चन्द्रागिरि नगरपालिका १२ बलम्बुमा रहेको हसना भास्तिपुर साकोसका प्रबन्ध सञ्चालक सम्पूर्ण महर्जन चयन भएका छन् । काठमाडौं जिल्लामा सञ्चालित सहकारी संस्थाहरुको व्यवस्थापकहरुको साझा मञ्चको रुपमा स्थापित कोअपरेटिभ म्यानेजर्स क्लब, काठमाडौंको दोस्रो साधारणसभाबाट महर्जन अध्यक्षमा चयन भएका हुन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून )का कार्यकारी प्रमुख शिवजी सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काठमाडौं जिल्लाका विभिन्न साकोसहरूका व्यवस्थापकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहकारी अभियानमा नविनतम् विषयहरुको प्रवद्र्धन र अवलम्बन गर्ने, व्यवस्थापनको क्षमतास्तर, कार्यसम्पादनस्तर र योगदानको स्तरलाई अभिबृद्धि गर्ने र सहकारी संस्थाहरुको अभ्यासहरुमा एकरुपता कायम गर्ने उद्देश्य राखेर २०७६ साल जेठ ६ गते चन्द्रागिरि नगरपालिका भित्र सञ्चालित १५ वटा सहकारी संस्थाहरुका कार्यकारी प्रमुखहरुको पहलमा म्यानेजर्स क्लब स्थापना भएको हो । उक्त क्लब २०७८ साल माघ ४ गते विधिवत रुपमा सम्बन्धित निकायमा दर्ता भएको थियो । स्थापना पश्चात क्लबले विभिन्न कृयाकलापहरु सञ्चालन गरी सहकारी संस्थाहरुको सुशासनको अवस्थालाई मजबुत गर्न भूमिका खेल्दै आईरहेको छ । साधारणसभाबाट महर्जनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।














