हामीले देशको सम्पन्नतामै हाम्रो अस्तित्व देखेका छौं ः चौधरी
विराटनगर। नेपाल अग्रवाल सभाले विराटनगरमा गरेको कार्यक्रममा उद्योगपति एवं नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले मारवाडी समुदायले राष्ट्रिय राजनीतिमा आमूल हस्तक्षेप गर्न सक्नुपर्ने बताएका छन्। ‘अनेकौं अप्ठ्यारा र प्रतिकूलताका बाबजुद हामी मुलुकको सम्पन्नताका लागि क्रियाशील छौं’, उनले भने, ‘तर पनि हामीलाई ‘सेकेन्ड क्लास ट्रिट’ गरिन्छ। हामीले देशको सम्पन्नतामै हाम्रो अस्तित्व देखेका छौं। यसका लागि हामीले पनि राष्ट्रिय राजनीतिमा आमूल इन्टरभेन्सन गर्न सक्नुपर्छ। जसले इन्टरभेन्सन गर्छ उसलाई सहयोग गर्नुपर्छ। उनले मारवाडी व्यवसायी अनेकौं अपमान, प्रतिकूलता र ‘सेकेन्ड क्लास ट्रिट’का बाबजुद पनि मुलुकको सम्पन्नताका लागि क्रियाशील रहेको दाबी गरे। उनले मारवाडी समुदायको शालीनतालाई कमजोरीका रूपमा लिइए त्यसको प्रतिरोध गर्नुपर्ने बताए।
‘यदि शालीनतालाई कमजोरीका रूपमा हेरिन्छ भने त्यहाँ प्रतिरोध हुन्छ,’ उनले भने, ‘हाम्रो समुदायप्रति सुनियोजित रूपमा अभियान चलाउने र जथाभावी बोल्नेलाई हामीले माफी मगाइसकेका छौं। हामीले लघुताभास बोक्नु हुँदैन, लघुताभास बोक्ने आवश्यकता छैन। नेपाल राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवन मित्तलले मारवाडी समुदायउपर अनेकौं लाञ्छना लगाउने दुर्गा प्रसाईंलाई माफी मगाइसकेको बताए। उनले जथाभावी बोल्न थालेपछि परिषद्ले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी हालेर प्रसाईंलाई लिखितरुपमा माफी माग्न लगाएको बताए। उनले केही समययता मारवाडी समुदायप्रति सुनियोजित रूपमा आक्रमण भइरहेको र घृणा–द्वेष फैलाउने काम गरिएको गुनासो गरे। उनले मारवाडी समुदाय मुलुकमा उद्यम–व्यवसाय विस्तार गरी देशलाई सम्पन्न बनाउन सधैं लागिपरेको जिकिर गरे। कार्यक्रममा उद्योगपति चिरञ्जीलाल अग्रवाललाई ‘नेपाल अग्र गौरव सम्मान’ प्रदान गरिएको थियो।














