ललितपुर बचत संघको २९ औं साधारण सभा सम्पन्न


ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे रहेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उनले राज्यले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सहकारीले काम गर्नु पर्ने भन्दै उनले सहकारीप्रति जनताको विश्वास बढाएर देशको अर्थतन्त्र निर्माणमा लाग्न आग्रह गरे । सहकारी ऐन र नियमावली आएको ६ बर्ष वित्दा समेत त्यसको कार्यान्वयनका लागि संरचना नबन्नु दुः खद भएको उनको भनाई छ । सहकारी क्षेत्रका समस्या बुझ्न कार्यदल बन्ने तर कार्यदलले दिएको सुझाव कार्यान्वयन नहुनु राम्रो पक्ष नभएको उनले बताए । सहकारीले देशको अर्थतन्त्र निर्माणको प्रमुख मेरुदण्डको रुपमा काम गरिरहेको र ७३ लाख बढी सदस्य आवद्ध हुनु सबल पक्ष भएको उनले बताए ।सहकारी संस्थाहरुलाई नियमन गर्नका लागि ऐनमा भएका व्यवस्थालाई कसरी कार्यान्वयनमा ल्याउने र समस्या समाधानका लागि आवश्यक ऐन कानून तर्जुमा तथा हाल भएका कानूनको कार्यान्वयन गर्न सरकारलाई सहयोग गरी समस्या समाधानमा लाग्न उनको आग्रह छ । पछिल्लो समय केही सहकारी संस्थामा समस्या आएकाले सहकारीको आलोचना भएको भन्दै उनले इमानदारिका साथ काम गर्न नसकेका केही व्यक्तिहरुले सहकारी र लघुवित संस्थाको ऋण नतिर्न अनेकन कुराहरु गर्न गरेको बताए । वित्तीय पहुँच नभएका जनताको जीवनस्तर उकास्न काम गरिरहेका यस्ता संस्थाहरुको केही व्यक्तिहरुले गरेको गलत प्रचारको उनले खुलेर विरोध गरे । सभामा संघका अध्यक्ष बजगाईले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीहरुले दुरदराजमा वित्तीय पहुँच अभिवृद्धि,सााजिक पुँजी निर्माण , प्राकृति विपति तथा कठिन समयमा पनि नियमित सेवा प्रवाह, सामाजिक पुँजी निर्णाण , क्षमता अभिवृद्धि ,महिला शशक्तिकरण , उद्यमशीलता विकास ,कृषि उपजहरुको निर्यात लगायतका क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएको बताए । केही सहकारी संस्थाले गरेको गलत क्रियाकलाप र आन्तरिक शुसासनमा नबस्दा त्यसको प्रभाव सिंगो सहकारी अभियानमा परेको उनले बताए । मुलुकको अर्थतन्त्रमा आएको मन्दीका कारण बैंक तथा वित्तीय संस्थामा तरलता चाप पर्दा त्यसको असरले सहकारी क्षेत्र समेत प्रभावित भएको उनले जनाए । कतिपय सहकारी संस्थाहरु मूल्य, मान्यता र सिद्धान्त अनुरुप सञ्चालन नभएको भन्दै उनले आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै संस्थाहरु शुसासनमा जानुपर्नेमा उनले जोेड दिए । यस आर्थिक बर्षमा संस्थाहरुको क्षमता अभिवृद्धिका तालिम,अन्तर लगानी विस्तार, म्यानेजर क्लब गठन,लघु कर्जा प्रदान र सक्रिय संस्था निर्माणमा पहल गर्ने उनले जानकारी दिए ।

संघका लेखा सुपरीवेक्षण समितिका संयोजक सानुकाजी महर्जनले समितिको प्रतिवेदन प्रस्तुत गर्दै एउटै संस्थालाई ठुलो कर्जा नदिन र साना साना कर्जालाई प्राथमिकता दिन सुझाव दिए । संघका कोषाध्यक्ष बसन्त मालीले आर्थिक बर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।संघको गत असार मसान्तसम्म शेयर पुँजी ७ करोड ४८ लाख, जगेडा तथा अन्य कोषहरु १४ करोड ५९ लाख ,बचत संकलन ९८ करोड ६३ लाख , वाह्य ऋण १७ करोड ६१ लाख र ऋण लगानी १ अर्ब ३ करोड १२ लाख रहेको छ । साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट सदस्य संस्थाहरुलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । कार्यक्रममा खुत्रुके बचत तथा ऋण सहकारी संस्था , कमर्ठ सामुदायिक सहकारी र स्वावलम्बी सहकारी संस्थालाई उत्कृष्ट संस्थाको रुपमा सम्मान गरिएको थियो भने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट परिचित सहकारी र क्वायना गणेश सहकारीलाई सम्मान गरिएको थियो । सभामा सस्थापक सम्मान शम्भु बहादर के.सी.लाई प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारी पुरस्कार कर्जा अधिकृत रमिता अवालेलाई प्रदान गरिएको थियो । संघले यस बर्षबाट सुरु गरेको सहकारी पत्रकारिता पुरस्कार सहकारी अखबार डटकमका सम्पादक खिला नाथ दाहाललाई प्रदान गरेको छ । सभामा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे ,बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा लगायतले शुभकामन मन्तव्य राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *