बालकुमारी साकोसले १२.५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने
भक्तपुर । शंखधरचोकमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सहुलियत दरमा ऋण लगानी गर्ने भएको छ । संस्थामा तरलता रकम अधिक रहेकाले सदस्यहरुलाई सहुलियत दरमा ऋण लगानी गर्न लागेको हो । सरकारले सहकारी संस्थाहरुको लागि सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको भएपनि संस्थाले भने बढीमा १३ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । बालकुमारी स्किम कर्जा अन्तर्गत कृषि,व्यापारिक, शैक्षिक , घर निर्माण र औद्योगिक कर्जामा संस्थाले लगानी गर्ने छ । संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठले संस्थामा अधिक तरलता रहेकाले ऋण लगानीका लागि नयाँ स्किम ल्याएको बताए । संस्थाले १३ प्रतिशत ब्याजदरमा १ करोड २० लाखसम्म सदस्यको परियोजना र आयस्रोतलाई हेरेर ऋण लगानी गर्ने उनले बताए । उक्त ऋणको अवधि भने एक बर्षमात्र रहेको छ ।
सदस्यले उक्त ऋणको मासिक रुपमा ब्याजदर बुझाए पुग्छ भने एक बर्ष पछि साँवा समेत फिर्ता गर्नुपर्ने उनले बताए । त्यसैगरी १२.५ प्रतिशत ब्याजदरमा सदस्यको समृद्धिको लागि कृषि,व्यापारिक, शैक्षिक , घर निर्माण र औद्योगिक कर्जामा शिर्षकमा १० बर्षको लागि २० लाखसम्म किस्ता बन्दीमा ऋण लगानी गर्ने उनको भनाई छ । संस्थाले १० लाखका दरले एकै परिवारका २ जना सदस्यलाई उक्त ऋण दिने छ भने सदस्यले मासिक रुपमा ऋणको साँवा ब्याज बुझाउनु पर्ने छ । दुबै ऋणको ब्याजदर एक बर्षसम्म कुनै परिवर्तन नहुने उनले जानकारी दिए ।
चालु आर्थिक बर्षको असोज मसान्तसम्म संस्थामा २९.६० प्रतिशत अर्थात् ४७ करोड ३१ लाख तरलता रककम रहेको छ । संस्थाको शेयर पुँजी १३ करोड ५१ लाख ८८ हजार, जगेडा कोषमा ५ करोड ८० लाख , बचत संकलन १अर्ब ५९ करोड ८१ लाख र ऋण लगानी १ अर्ब ३० करोड ९४ लाख रहेको छ । ५ करोड ९० लाख कुल संस्थागत पुँजी रहेको संस्थाको कुल सम्पत्ति १ अर्ब ९२ करोड रुपैया पुगेको छ ।
















