राष्ट्रिय हस्तकला ब्यापार मेला मंसीर २८ गतेबाट


काठमाण्डौं । नेपाल हस्तकला महासंघले स्थापनाको ५१औं वर्ष तथा १२ औं हस्तकला दिवससमेतको अवसर पारेर मंसिर २८ देखि पौष २ गते सम्म २०औ हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । होटेल डे’ल अन्नपूर्ण, दरबारमार्गमा हुने मेलामा उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्धनमा सहयोग पुर्‍याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने मेलाको उद्देश्य रहेको जनाएको छ। नेपाली हस्तकला वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवर्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात ब्यापार प्रबद्र्धन गर्ने, नेपाली उद्यमी व्यबसायी र बिदेशी हस्तकला आयातकर्ता बीचमा व्यवसायिक सम्बन्ध बिकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई हस्तकला वस्तुको बजारिकरणमा सहयोग पुर्‍याउने उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यसैगरी नवोदित उद्यमी ब्यबसायीलाई बजार पहुँचको अवसर प्रदान गर्ने, हस्तकला र नेपाली संस्कृति बीचको अन्तर सम्वन्धलाई जनमानसमा उजागर गर्ने, विदेशी क्रेताहरुलाई हस्तकला वस्तुहरु एकै स्थानबाट खरिद गर्ने अवसर प्रदान गर्ने, आयात र निर्यात बीचको दुरी घटाई व्यापार घाटा न्यूनिकरण गर्न सहयोग पुर्‍याउने उद्देश्य मेलाको रहेको छ । मेलामा ३ वटा प्याभिलियन सहित करिब १३० स्टल रहने छन् । मेलामा विदेशी प्रदर्शनीकर्तामा पाकिस्तान, बंगलादेशका व्यापारीहरुको समेत स्टल रहने जनाइएको छ। विभिन्न स्टलमा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरुको प्रदर्शनी हुनेछ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । मेलाको प्रमुख आर्कषणको रुपमा रहेको जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी अन्तर्गत परम्परागत विधा तर्फ “पौभा” र समसामयिक विधा तर्फ “छ्वाली कला” मा प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी हुनेछ। मेलामा झण्डै १ लाख आगन्तुक आउने अनुमान आयोजकको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *