लालीगुराँसको कर्जाचुक्ता गर्न ३५ दिने सूचना
काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुरले बसुन्धरामा रहेको महेन्द्र नारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्थाले लिएको कर्जा नतिरेको भन्दै श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले ऋणी संस्थालाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना निकालेको छ । संस्थाले संस्थागत प्रयोजनका लागि लागेको कर्जाको साँवा, ब्याजलगायत अन्य दस्तुर नतिरेको र संघसँग गरेको सम्झौता उंल्लघन भएको संघले जनाएको छ । कर्जाको सम्पूर्ण साँवा, ब्याज आदी चुक्ता गर्न बारम्बार सुचना जारी गरी जानकारी गराउँदा पनि कुनै चासो नदेखाई बेवास्था गरेकाले उल्लेखित ऋणी सदस्य संस्थाको संचालक समितिका पदाधिकारी, अख्तियार प्राप्तलगायत व्यक्तिगत जमानत बस्ने सदस्यको फोटो सहित १५ दिने सूचना निकालेको छ ।
उक्त सहकारीको संचालक समितिका सदस्यहरूमा नेफ्स्कुन नवनिर्वाचित अध्यक्ष चन्द्र ढकाल समेत छन् । देशभरका करिब ३२ हजार सहकारी सुधारको अभियानमा २०५३ सालबाट अनवरत सक्रिय ढकाल नै कर्जा चुक्ताको ताकेतामा परेपछि नेफ्स्कुन नेतृत्वमाथि प्रश्न उठेको छ । नेफ्स्कुनको ३२औँ वार्षिक साधारणसभाबाट अध्यक्ष निर्वाचित भएका ढकाललाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना नै सार्वजनिक गरेको विषयले कर्जा लिएर चुक्ता गर्न नसकेका सर्वसाधारणको बर्तमान अवस्था र समग्र सहकारी अभियानको चित्र छर्लङ्ग भएको छ । १५ दिन भित्र कर्जाको सम्पूर्ण साँवा, ब्याज चुक्ता नगरेको खण्डमा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा यस संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली अनुसार ऋणी तथा व्यक्तिगत जमानी बस्ने व्यक्तिहरूको चल अचल सम्पत्तिहरूबाट र कानुन बमोजिम निजको घर घरानाबाट समेत असुल उपर गरिने जनाएको छ ।

















