नेपाली कांग्रेसका पार्टी सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ ।

संसद्को हिउँदे अधिवेशनबारे छलफल गर्न आज बसेको संसदीय दलको बैठकले अधिवेशन चल्दासम्म राजधानी नछाड्न निर्देशन दिइएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । जानैपर्ने भए मुख्य सचेतकको लिखित अनुमति लिनुपर्ने उनको भनाइ छ । बैठकले विधेयकहरू चाँडोभन्दा चाँडो संसद्‌‌मा पेस गर्न आग्रह गर्ने निर्णय गरेको छ । विचाराधीन विधेयक यसै अधिवेशनमा पारित गर्न सबै दलहरूमा आग्रह गर्ने निर्णय भएको लेखकले बताए । उनले कोसीको परिणामलाई अनपेक्षित भएको पनि बताए । उनले भने, ‘गठबन्धनबाट हाम्रा १९ जना साझा उमेदवार थिए । कोसी प्रदेशको परिणाम अनेपक्षित रहेको ठहर बैठकले गरेको छ ।

कोसीमा दुईजना उमेदवार हुनुहुन्थ्यो, एकजना पराजित हुनुभयो । जसलाई हामीले अनेपक्षित परिणामका रूपमा लियौँ । यो विषयलाई बैठकले गम्भीरतापूर्वक लिने निर्णय गरेको छ ।’ राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसी प्रदेशमा सत्ता गठबन्धनबाट उमेदवार नेकपा माओवादी केन्द्रका चम्पा कार्कीलाई पराजित गर्दै एमालेका रुक्मिणी कोइराला विजयी भएका थिए ।

बैठकले नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई बधाई दिने पनि निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *