प्रधानमन्त्री प्रचण्डले आज संसदमा विश्वासको मत लिंदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बुधबार) संसदमा विश्वासको मत लिंदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सत्ता फेरबदलसँगै प्रधानमन्त्री प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि उनले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए । प्रधानमन्त्री प्रचण्डलाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नाउपालगायत दलले समर्थन गर्न ह्वीप जारी गरेका छन् । कांग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चा भने विपक्षमा छन् ।

यद्यपि विश्वासको मत प्राप्त गर्न १३८ सांसदको समर्थन चाहिन्छ । जसअनुसार सत्ता गठबन्धनबाट क्रमशः एमालेबाट ७७, माओवादी केन्द्रका ३२, रास्वाका २१, जनता समाजवादीका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

गत फागुन २१ मा नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रचण्डले विश्वासको मत लिने संवैधानिक समयअघि नै मत लिन लागेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *