२ करोडबाट ७५० करोडसम्मको यात्रा कसरी सम्भव भयो ?

गुरुप्रसाद न्यौपाने,उर्जा विज्ञ
विगतको लामो अनुभवलाई स्मरण गर्दै केही कुरा साझा गर्न चाहन्छु। जब मैले यो क्षेत्र(जलविद्युत)मा यात्रा सुरु गरेको थिएँ, २ करोड रुपैयाँभन्दा बढी लगानी जुटाउन पनि निकै कठिन थियो। बैंकिङ क्षेत्रमै जलविद्युत लगानीको विषय नै नयाँ थियो। त्यतिबेला गरिएको कठोर परिश्रमबाट २२ करोड रुपैयाँ जुटाइएको त्यो यात्रा आज सम्झिँदा गर्व लाग्छ। आज आएर ७५० करोड रुपैयाँ बराबरको परियोजनाको वित्तीय व्यवस्थापन भएको देख्दा मलाई अत्यन्तै खुशी लागेको छ। यो हाम्रो क्षेत्रको ठूलो प्रगति हो। हाइड्रोपावर क्षेत्रमा काम सुरु गर्दा बैंकहरूको लगानीको खासै संलग्नता थिएन। धेरैजसो प्रयास व्यक्तिगत पहल र जोखिममा आधारित थिए। यस क्रममा म नेपालका पूर्व अर्थसचिव डा. ठाकुरनाथ पन्तलाई पनि स्मरण गर्न चाहन्छु। उहाँलाई जलविद्युत क्षेत्रमा विशेष रुचि थियो। अरुण तेस्रो ४०० मेगावाट परियोजनाको दस्तावेजमा उहाँको योगदान रहेको थियो। त्यो परियोजना अगाडि बढ्न नसकेपछि उहाँलाई निकै पीडा भएको थियो। त्यसपछि मैले “अरुण” नामबाट कम्पनी सुरु गरेको देखेर उहाँले दिएको प्रेरणा आज पनि सम्झना छ। नेपालमा जलस्रोतको क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भएको छ, तर यसको सही मूल्याङ्कन हुन सकेको छैन। म युवा पत्रकार साथीहरूलाई विशेष रूपमा भन्न चाहन्छु । २५ वर्षको जलविद्युत यात्रामा मलाई विभिन्न आरोपहरू लागे, झोले, खोले, माफिया आदि। तर म स्पष्ट भन्न चाहन्छु, म केवल सरकारको अनुमति लिएर देशको जलविद्युत विकासमा लाग्ने एक उद्यमी हुँ। उद्यमीलाई उद्यमीको रूपमा र राष्ट्र निर्माणमा योगदान गर्ने व्यक्तिको रूपमा सम्मान गर्नुपर्छ। नेपालमा अहिले करिब ४ हजार मेगावाट विद्युत उत्पादन पुगेको छ। सरकारले आगामी वर्षहरूमा ३० हजार मेगावाटको लक्ष्य राखेको छ भने राष्ट्रले ८३ हजार मेगावाटसम्मको सम्भावना देखाएको छ। यो ठूलो अवसर हो। देशको समृद्धि विद्युत विकाससँग प्रत्यक्ष जोडिएको छ। जलविद्युत पूर्वाधार विकासको आधार हो। यसमा कन्जुस्याइँ गर्नु हुँदैन। आज म ७४ वर्षको भए पनि मलाई अझै पनि २४ वर्षको जस्तो जोश चाहिएको महसुस हुन्छ, किनभने देशको ऊर्जा क्षेत्र अझै विशाल सम्भावनाले भरिएको छ। विशेष गरी जलाशययुक्त आयोजना र पम्प स्टोरेज जस्ता परियोजनाहरू नेपालमा अझै पर्याप्त रूपमा विकास भएका छैनन्। अब लगानीकर्ताहरूलाई म आग्रह गर्न चाहन्छु। हाम्रो जस्ता कम्पनीहरूमा आत्मविश्वासका साथ लगानी गर्नुहोस्। बैंक ऋणमा मात्र होइन, इक्विटीमा आधारित बलियो संरचना आवश्यक छ। ७० प्रतिशत इक्विटी र ३० प्रतिशत ऋणको संरचनाले दीगो विकास सम्भव हुन्छ। जलविद्युतलाई केवल बिजुली उत्पादनको रूपमा मात्र होइन, बहुआयामिक विकासको आधारको रूपमा हेर्नुपर्छ। यसलाई कृषिसँग, पर्यटनसँग, होमस्टेसँग र स्थानीय विकाससँग जोड्न सकिन्छ। साथै, ट्रान्समिसन लाइन निर्माण र जलाशययुक्त आयोजनामा राज्य र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छ। आजको चुनौतीपूर्ण विश्व परिस्थितिमा निर्माण लागत बढिरहेको छ, जसले परियोजनाहरूलाई महँगो बनाइरहेको छ। त्यसैले अत्यन्त सावधानीपूर्वक योजना र कार्यान्वयन आवश्यक छ। बैंकहरूसँगको हाम्रो सम्बन्ध सधैं अनुशासित र विश्वासमा आधारित रह्यो। २५ वर्षमा एक दिन पनि ऋण भुक्तानीमा ढिलाइ गरिएको छैन, जसले वित्तीय अनुशासनलाई बलियो बनाएको छ। अब नेपालका जलविद्युत परियोजनाहरू नेपालीहरूले नै नेतृत्व गर्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ। विदेशीहरूसँग सहकार्य गर्न सकिन्छ, तर नेतृत्व हाम्रो आफ्नै हुनुपर्छ। जलविद्युत क्षेत्रलाई कृषिको पुनर्जीवन, पर्यटनको विकास र रोजगारी सृजनासँग जोडेर अघि बढाउनुपर्छ। अन्त्यमा, आज यहाँ उपस्थित सबैलाई धन्यवाद दिन चाहन्छु। हाम्रो कम्पनीले आगामी दिनमा अझ धेरै परियोजनाहरू सफलतापूर्वक अघि बढाउने विश्वास दिलाउँछु। कम्पनीप्रति विश्वास राख्नुहोस्, लगानी गर्नुहोस् र यस यात्रामा साथ दिनुहोस्। नेपाल जलविद्युतको ठूलो सम्भावनाले भरिएको देश हो, र हामी सबै मिलेर यसलाई समृद्धितर्फ लैजान सक्छौं।
(लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’का लागि वित्तीय व्यवस्थापन सम्बन्धी कार्यक्रममा न्यौपानेले राखेको विचार)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *