महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच बैंकबाट दैनिक रूपमा निस्कने डिस्पोजेबल कागज व्यवस्थापन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ । पुराना कागज नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुनः प्रयोग तथा पुनः प्रशोधनमार्फत वातावरण संरक्षण गर्दै सामाजिक रूपमा पिछडिएका विधार्थीको शैक्षिक विकास गर्ने मूल उद्देश्यका साथ सहकार्य भएको हो । सहकार्यअन्तर्गत राउण्ड टेबल नेपालले महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागज संकलन गर्नेछ ।

यसरी संकलन गरिएका कागज राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनको लागि दिइने र सोमार्फत प्राप्त रकम गरिब तथा असहाय विधार्थीको शिक्षामा पहुँच विस्तार गर्नका लागि खर्च गरिने छ । बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौं’ भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास दुवै संस्थाले लिएका छन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालय र करिब ८ लाख ग्राहक रहेका छन् । साथै २२ औं वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्तावसमेत पारित भएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *