पूर्वमुख्यमन्त्री कार्कीको कोसी सरकारविरुद्ध आमरण अनशन बस्ने घोषणा

काठमाण्डौं । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध आमरण अनशन बस्ने घोषणा गरेका छन् । प्रदेश राजधानी विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो नेतृत्वको सरकारले ल्याएका जनता केन्द्रित कार्यक्रम कटौती गरेको भन्दै प्रदेशसभा सचिवालयनजिकै देवकोटाचौकमा अनशन बस्ने घोषणा गरेका हुन । विकासमा भएको भेदभाव सच्याउन भन्दै उनले मुख्यमन्त्री हिक्मत कार्कीलाई स्मरण पत्र बुझाएर ४८ घण्टे अल्टिमेटम दिएका थिए । पूर्वमुख्यमन्त्री कार्की नेतृत्वको सरकारले कोसी प्रदेशमा १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार, बजेटमा २५ लाखमाथिका योजना, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घ्यू तथा धुलो दूधको निर्यातमा प्रोत्साहन, सुनसरी मोरङ केशलिया करिडोर, कृषि र प्राविधिक शिक्षाका विपन्न विद्यार्थीलाई छात्रवृत्ति, जनावरमैत्री जंगल आदि कार्यक्रम ल्याएका थिए ।

तर, चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले ती कार्यक्रम बजेटबाट हटाई दिएको थियो । कार्कीले भने, सोझै जनतासम्म पुग्ने र उनीहरू लाभान्वित हुने कार्यक्रम कटौती भएका छन् । नेता, कार्यकर्ता पोस्ने गरी ल्याइएको कार्यक्रमले जनहित हुँदैन । त्यसैले जनताको कर जनतालाई नै फिर्ता हुने गरी ल्याइएका कार्यक्रम निरन्तर हुनुपर्छ । कार्कीले बुधबारबाट आमरण अनशन सुरु गर्ने बताएका छन् । बालबालिकाको निःशुल्क उपचार सुरु गरिएपछि अघिल्ला आर्थिक वर्षको माघदेखि असार मसान्तसम्म करिब आठ हजार बालबालिकाले निःशुल्क उपचार पाएका थिए । कोसीमा अहिले एमाले नेतृत्वको सरकार छ । कांग्रेसले सरकारमा सहभागिता जनाइसकेको छैन । तर, सरकारलाई समर्थन गर्दे प्रदेशसभा बैठका कांग्रेस सांसद सत्तापक्षीय बेन्चमा बस्न सुरु गरिसकेका छन् । संसदीय दलले प्रदेशसभालाई पत्राचार गरी सरकारलाई समर्थन रहेको जनाइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *