अर्काको काँध चढेर राज गर्नेको दिन सकिए- प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् ।
आज (आइतबार) नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले उक्त अभिव्यक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गरेको बुझ्न सकिन्छ । उनले अहिले नेपाली कांग्रेससँग बनेको सरकार गठबन्धन नभइ समीकरण भएको जिकिर गरेका छन् । उनले भने ‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँनेका दिन गए । त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो,’ ओलीले भने । उनले नेकपा एमाले र अहिलेकै समीकरणले देश विकास गर्ने र विकासको नेतृत्व एमालेले नै गर्ने दाबी पनि गरे ।
कार्यक्रममा एमालेको मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरू पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललगायत सहभागी रहेको बताइएको छ ।