नेफ्स्कूनले दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको अवसरमा प्रदेशस्तरीय गोष्ठी गर्दै
काठमाण्डौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनले प्रदेशस्तरीय साकोस गोष्ठी गर्ने भएको छ । संघले कोशी, मधेश र लुम्बिनी प्रदेशमा गोष्ठी आयोजना गर्न लागेको हो । संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाईरहेको हुँदा नेफ्स्कुनले पनि गोष्ठी गरी सहकारी वर्ष मनाउन लागेको जनाएको छ । सहकारी संघसंस्थाहरुको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनाका लागि विषयविज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुनेछ । नेफ्स्कूनले बैंशाख २५ गते इटहरीको लायन्स क्लब सभा हल, बैशाख २८ गते गौतम होटल बर्दिबास र बैशाख ३१ गते कल्पतारु होटल, नेपालगञ्जमा गोष्ठी आयोजना हुने जनाएको छ । दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षले राखेका उद्देश्यको प्राप्ति, सहकारीको पहिचान प्रर्वद्धन, नेतृत्वलाई उत्प्रेरणा र दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीहरुलाई सचेत गराउने ध्येयकासाथ प्रदेश स्तरीय गोष्ठी गर्न लागिएको हो । त्यसकासाथै सहकारीसम्बन्धी विद्यमान कानुनका द्विविधा, स्थानीय परिवेश तथा अभियानकर्मीहरूको फरक बुझाइबाट सिर्जना हुने समस्याका समाधानका साथै सहकारीका सदस्यको बचतको सुरक्षा र संस्थाको संस्थागत दिगोपनाका लागि सुशासनलाई मध्यनजर गर्दै एकैैसाथ ३ प्रदेशमा गोष्ठी हुन लागेको प्रमुख कार्यकारी अधिकृत डा। शिवजी सापकोटाले बताए । पारदर्शिता, जावाफदेहिता र सदस्य केन्द्रीयता मार्फत सहकारीको वित्तीय सुशासन अभिवृद्धि गर्न सकेमात्र वर्तमानमा सहकारीको छविमा सुधार ल्याउन सकिने उनले जनाए ।
प्रदेशगत गोष्ठीले सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीको महत्व र लेखा सुपरिवेक्षण समितिको भूमिकाबारे सचेतना फैलाउने, संस्था सञ्चालन सम्बन्धी कानुनी व्यवस्था बारे जानकारी दिने, साकोस अभियानको प्रवद्र्धन तथा हितका लागि साकोस अभियानको कार्यदिशा स्पष्ट पार्ने र वित्तीय नियन्त्रण प्रणालीका आधारभूत विषयहरुको बारेमा जानकारी उद्देश्य लिएको छ । प्रत्येक गोष्ठीमा कम्तीमा २०० जना सहभागी हुने अपेक्षा संघको रहेको छ । सहकारी संस्थाका लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक तथा अन्य सरोकारवाला व्यक्तिहरु गोष्ठीमा सहभागी हुन सक्नेछन् । एक दिवसीय गोष्ठीमा तीनवटा सत्र सञ्चालन गरिने र दुई वटा सत्र विषयविज्ञहरू कार्यपत्र प्रस्तुत हुनेछ । गोष्ठीमा वित्तीय सुशासनको अवधारणा र महत्व, आन्तरिक नियन्त्रण प्रणाली प्रवद्र्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका, पारदर्शिता, जवाफदेहिता र सदस्य केन्द्रीयता जस्ता विषयमा छलफल हुनेछ । त्यसैगरी बचत ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल, साकोसहरुको संस्थागत सुधारको लागि साझा प्रयास, सहकारी क्षेत्रमा नियमन र स्वायत्तताको सन्तुलन र सहकारी नियमनको नयाँ प्रावधानः चुनौती र अवसरहरुका बारेमा सहभागीहरुलाई प्रशिक्षित गरिने भएको छ । गोष्ठीमा सहभागी हुन अनलाइन आवेदन दिएर रजिष्ट्रेशन गर्न सकिने नेफ्स्कूनले जनाएको छ ।
















