“सस्मरण”

करिब १७ वर्षको थिएँ, बुवाले खासै केही नभनेर जिल्ला सदरमुकाम लिएर जानुभयो । अल्लारे केटो, मन मस्तिस्कमा अनेकौं रङ्गीन कुराहरु खेलिरहेका थिए, तर जे उदेश्यले बुवाले शहर लिएर जानु भएको थियो त्यतापट्टी खासै केही सोचिरहेको थिएन।

बेलुका होटेलमा बसेका हामी बाबुछोरा खाना खाईवरी सुतिसकेका थियौं। मलाई राती अबेर सम्म निन्द्रा लागेन। तथापी कतिबेर निदाएछु पत्तै पाईन। वेलुका जति अबेर सुतेपनि बिहान ढिलासम्म सुत्ने बानी नभएकाले ४ बजेतिर उठेर ब्रस गरी, हातमुख धोएँ।

करिब १ घण्टापछि बुवा उठेर हातमुख धुनुभयो र ६ बजेतिर होटेलको तल लबिमा गयौं। बुवाले चिया खानुभयो, मैले दूध र पाउरोटी खाएँ। होटेलका साहुसँग बुवाको पुरानै चिनजान भएकाले उहाँहरु गफिनु भयो । म भने यताउति जाने, रोडतिर हेर्ने र टहल्लिने गरिरहेको थिएँ।

९ बजे तिर होटेलको खाना तयारी भएछ, तातो-तातो खाना खाएर बुवा र म त्यहाँबाट निस्कियौं। बाटोमा हिड्दै गर्दा पो बुवाले शहर आउनुको कारण बताउनु भयो। कारण मेरो नागरिकता बनाउन पो रहेछ। कता-कता च्वास्स मुटु दुःखेको जस्तो न फेरी कता-कता खुसीहरु मनमा उर्लिए।

१० बज्नै लाग्दा जिल्ला प्रशासन् कार्यालय पुगिसकेका थियौं। कार्यलय खुल्दै थियो, हामी प्रतिक्षालयमा बसिरहेकै बेला त्यहाँ मेरै उमेरका थुप्रै केटा-केटीहरु देखिरहेको थिएँ। सायद उनिहरु पनि म जस्तै नागरिकता बनाउन आएका होलान् भन्ने लाग्यो।

अहिलेको जस्तो, जे गर्न वा जता जान पनि नागरिकता अनिवार्य थिएन। कित सेना वा प्रहरी यात भारत, बेलायत र सिंगापुर लगायतका विदेशी सेना/प्रहरीहरुमा भर्ति हुनेहरुले मात्रै नागरिकता लिन उत्सुक्ता देखाउँथे। मलाई भने सेना/प्रहरी कतै जानु नै थिएन, त्यसैले नागरिकता लिने खासै चासो पनि गरिन।

घरबाट केही नभनिकनै बुवाले सदरमुकाम लगेर नागरिकता बनाईदिने भनेपछि आफु ठूलो वा बुढो भैसकेको महशुस गरेर दुःख पनि लागेको थियो। मेरो मनमा खोई किन यस्तो सोचाई आयो थाहा भएन। अहिलेका नानीबाबुहरु १५ वर्ष पुरा भइ १६ लाग्न पाएका हुँदैनन् बाबुआमा सँग नागरिकताका लागि किच-किच गरेको देख्दा अचम्म लाग्छ।

हुन त अहिले नागरिकता बिना केही गर्नै नमिल्ने भएको छ । सामान्य एउटा सिमकार्ड लिन वा बैंक खाता खोल्न पनि नागरिकता अनिवार्य चाहिन्छ। हुनपनि यो सबै विज्ञान र प्रविधिले मारेको फड्को हो। मैले नागरिकता लिंदा न मोबाईल थियो न त बैंक खाता नै खोल्नु पर्ने थियो, त्यसैले पनि नागरिकता लिन हतार गर्नुपर्ने जरुरी थिएन।

नागरिकता लिन लाईनमा बस्नु पर्ने रहेछ, गाविसको सिफारिस कागज, दुबै कान देखिने गरि सिधा हेरेको र ढाँका टोपी लगाएको फोटो अनिवार्य रहेछ। साथै जन्मदर्ता र अरु के-के कागजात चाहिंदो रहेछ। त्यो सबै बुवाले ठिकठाक पारेर ल्याउनु भएकोले म बुवाको पछि-पछि कुदें मात्रै। यति र उति नम्बरको कोठा चहार्दा चहार्दै अन्तिममा सिडिओ साबकोमा दस्तखत गराउनु पर्ने रहेछ।

सिडिओले यत्तिकै हचुवाको भरमा दस्तखत नगर्ने रहेछन्। नाम-थर, जन्म मिति र स्थायी ठेगाना जस्ता कुरा सोध्ने रहेछन्। कसै माथि शङ्का लागेमा फोटो र मानिसलाई दाँजेर, केरकार समेत गर्दा रहेछन्। अहिले सम्झिदा त्यसो गर्नुमा नागरिकताको महत्व कति रहेछ भन्ने र कसैले नक्कली नागरिकता नलिउन् भन्नेमा राज्य प्रशासन् कति सजक रहेछ भन्ने लाग्छ।

आजभोली दैनिक जसो सयौंले नक्कली नागरिकता लिएको समाचार छ्याप्छ्याप्ती पढ्दै गर्दा, त्यो बेला भन्दा अहिले प्रविधिले धेरै सजिलो बनाएको लाग्छ तर पनि सम्वन्धित निकाय र व्याक्ति गैर जिम्मेवार बनेका कारण त्यसरी नक्कलि नागरिकता लिने गर्छन् होला। कति कर्मचारी र बिचौलियाहरु घुस रकम सहित रङ्गेहात पक्राउ परेका समाचार पनि आइरहन्छन्।

नागरिकता भनेको कुनै एउटा निष्चित भूगोल वा राष्ट्रभित्र जन्मिएको मानिसले पाउने प्रमाण हो। अथवा त्यो बाहेक अन्य योग्यता र आधारहरु पनि छन्, नागरिकता प्राप्त गर्न। नागरिकता भन्ने प्रमाणपत्र निकै आवस्यक र संवेदनशिल परिचय पत्र हो। यसको दूरुपयोग वा अबैध वितरणमा राज्य र संवन्धित निकाय निर्मम भएर लाग्नु पर्छ।

त्यो दिन मलाई पनि सिडिओ साबले बुवाकै अगाडि केही कुराहरु सोध्नु भयो। मैले सबै जवाफ फटाफट भनिदिएँ र उक्त सानो चिटिक्क परेको नागरिकतामा मेरो फोटोमा र नागरिकताको पछाडी पट्टी उहाँले हस्ताक्षर गरिदिनु भयो र मलाई दिंदै ल बधाई छ भन्नु भएको अहिले पनि भर्खरै जस्तो लाग्छ। हातमा नागरिकता परेपछि खुप वल्टाई पल्टाई हेरें र त्यहाँ लेखिएका सबै कुरा दोह्रयाई तेहर्याई पढें।

काम फटाफट भएकोले लगभग १/२ घण्टामै हामी त्यहाँबाट फर्किसकेका थियौं। त्यतैबाट बजारतिर गयौं, बुवाले मलाई जुत्ता र कपडा किनिदिनु भयो। त्यो दिन त्यही होटेलमा बस्यौं र भोलि पल्ट बिहानै घरतिर फर्कन बस चढियो। मेरो सानो क्याट लेखेको झोलामा एसएलसीको मार्कसिट र सर्टिफिकेट लगायत अन्य कागजात थिए, त्यसमै नागरिकता राखेको थिएँ।

बसमा बुवा निदाएको मौका पारेर पटक-पटक त्यो नागरिकता वल्टाई पल्टाई हेरेको कुरा अहिले सम्झिंदा यो मन कम्ता रोमान्चित हुँदैन। त्यसरी नागरिकता प्राप्त गरेर घर पुगियो। केही दिनपछि बुवामुवाले गालि गर्दा अँझै बच्चै छु भन्याछस्, नागरिकता पाईसकिस्, अबत अलि परिपक्व बन्न सिक् भन्दा झसङ्ग हुन्थे।

बुवामुवाले पटक-पटक नागरिकता पाएको मान्छे, पहिले जस्तो जथाभावी हिंड्ने, खेल्ने, लडाइँ-झगडा गर्ने होईन भन्नुहुन्थ्यो। कहिले काहीं आफु भन्दा साना भाईबहिनीलाई पिट्थे, त्यो बेला पनि नागरिकता पाईसकेको बुढो मान्छे भएर पनि साना भाईबहिनीलाई यसरी पिट्ने भनेर बुवामुवाको अर्ति-उपदेश खुप सुनेको छु।

मलाई मेरो त्यो नागरिकताले कम्ता जिम्मेवार बन्न सिकाएको थिएन कि त्यो बयान गरि साध्यै छैन। अहिले पछाडी फर्केर हेर्दा त्यो ढाँका टोपी सहितको फोटो भएको मेरो नागरिकता नै मेरो ठूलो पहिचान रहेछ। आजकाल त नागरिकता बनाउदा जस्तो सुकै फोटो भएपनि चल्ने रहेछ, किन यसो गरिएको होला?

नेपालीहरुको पहिचान मास्ने कसको, के स्वार्थ होला? यस्ता कयौं प्रश्न मन-मस्तिष्कमा अनुत्तरित भएर खेलिरहन्छन्, अहिले ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *