नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ । उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । स्वागत गर्दै एन्फाका महासचिव किरण राईले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको र अपराजित रहँदै फर्केको बताए । साथै राईले पेनाल्टीमा पराजित हुँदा एसियन कपमा पुग्न नसक्दा दुख्ख लागेको बताए । यस्तै यसै छनोटबाट नेपालको कप्तान नियुक्त भएकी सावित्रा भण्डारी साम्बाले अवसरलाई सही तरिकाले सदुपयोग गरेको बताइन्

छनोटको समूह एफमा रहेको नेपाल निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टीसुट आउटमा पराजित भएपछि अर्को वर्ष मार्चमा अस्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुन सकेन । जित्नैपर्ने खेलमा निर्धारित समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेल र समूह विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो । एसियन कपमा छनोट हुन असफल भएपनि बलियो उज्बेकिस्तानसँग दुई गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै खेल बराबरी गर्न सफल नेपाली महिला टोलीको प्रशंसा भएको थियो ।

नेपालको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पनि आफ्नो खेलाडीहरू प्रति गर्व लागेको बताएका थिए । साथै उनले नेपाली खेलाडीहरूमा राम्रो सम्भावना भएको बताएका थिए । समूह एफमा नेपालले लाओसलाई ९-० र श्रीलंकालाई ८-० पराजित गर्दै सानदार सुरुवात गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *