नाकले कसरी वायु शुद्धीकरण गर्छ ?

नाक मानव शरीरको एक महत्वपूर्ण अंग हो, जसले श्वासप्रश्वास, गन्ध पहिचान र अनुहारको सौन्दर्यमा महत्वपूर्ण भूमिका खेल्छ । नाक शरीरको बाहिरी अंग हो, जसले बाह्य वातावरणसँग प्रत्यक्ष सरोकार राख्छ । वातावरणमा रहेको धुलोको कण, संक्रमण गराउने विभिन्न भाइरस नाक मार्फत् मानव शरीरमा प्रवेश गर्छन् । एलर्जी गर्ने ‘प्रोटिन’ कण पनि नाकको माध्यमबाट शरीरमा पुग्छ । नाक सफा गर्नुपर्छ ? नाकलाई स्वस्थ राख्न के गर्नुपर्छ ? यसबारे खासै हेक्का हुँदैन । बेलाबखत नाक बन्द हुँदा वा सास फेर्न असहज हुँदा मात्र हाम्रो ध्यान नाकतर्फ जान्छ । नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. अरुण अधिकारीका अनुसार नाकको संरचनालाई बाहिरी र भित्री दुई भागमा विभाजन गर्न सकिन्छ । नाकको बाहिरी भागमा नाकको डाँठ, नाकको टुप्पो र नासिका हुन्छन् । ‘नाकको माथिल्लो भाग हड्डीले बनेको हुन्छ भने तल्लो भाग कुरकुरे हड्डीले बनेको हुन्छ’ डा.अधिकारी भन्छन्, ‘जसले नाकलाई आकार प्रदान गर्छ । नाकको छाला माथिल्लो भागमा पातलो र तल्लो भागमा बाक्लो हुन्छ ।’ नाकको भित्री संरचनामा नासिका मार्ग, म्यूकस झिल्ली, साइनस, टर्बिनेट्स र गन्ध संवेदक हुन्छ । नासिका मार्ग नाकको भित्री खोक्रो भाग हो, जुन दुई नासिकाद्वारबाट सुरु हुन्छ र घाँटीसम्म जोडिन्छ । नाकको भित्री भागमा म्यूकस झिल्ली हुन्छ, जसले धुलो, किटाणु र अन्य कणहरूलाई रोक्छ । नाकको वरिपरि चार जोडी साइनस हुन्छन्, जसले श्वासप्रश्वासमा सहयोग गर्ने अधिकारीले जानकारी दिए । उनका अनुसार टर्बिनेट्स नाकको भित्री भागमा रहेका हड्डीका संरचनाहरू हुन्, जसले हावालाई तातो, नम र फिल्टर गर्छ । नाकको माथिल्लो भागमा गन्ध पहिचान गर्ने संवेदकहरू हुन्छन्, जुन मस्तिष्कसँग जोडिएर गन्धको जानकारी दिन्छन् । नाकले मुख्यतया सास फेर्ने, गन्ध थाहा पाउने, हावालाई तातो वा चिसो बनाउने, तल्लो श्वासप्रश्वास मार्गको सुरक्षा गर्ने, नाक बन्द हुँदा स्वर परिवर्तन हुने लगायतका काम गर्ने डा. अधिकारी बताउँछन् । नाकले हावालाई श्वासमार्गमा प्रवेश गराउँछ’ डा.अधिकारी भन्छन्, ‘यसले हावालाई फिल्टर, तातो र नम बनाउँछ, जसले फोक्सोलाई स्वस्थ राख्छ । साथै नाक र साइनसले वातावरण अनुकूल ‘एयर कन्डिसनर’को रूपमा पनि काम गर्छ । नाकले गन्ध पहिचान गर्छ, जुन मस्तिष्कको स्नायु मार्फत प्रसारित हुन्छ । यो खानाको स्वाद थाहा पाउन र वातावरणको जानकारी लिन पनि सहयोगी हुने उनले बताए । नाकको रौँ र म्यूकसले धुलो, किटाणु र अन्य हानिकारक कणहरूलाई रोक्छ । नाकले आवाजलाई स्पष्ट र गुणस्तरीय बनाउन सहयोग गर्छ । साइनसले अनुहारको हड्डीलाई हल्का बनाउने र श्वासप्रश्वासमा सहयोग गर्ने अधिकारी बताउँछन् । ‘कुनै बाहिरी वस्तु वा कण सासमार्फत प्रवेश गर्दा नाकको प्रतिक्रिया सुरु हुन्छ र हाछ्युँ आउँछ, जसले ती बाहिरी कणहरूलाई फोक्सोमा पुग्नबाट रोक्छ । यसरी नाकले हाम्रो तल्लो श्वासप्रश्वास मार्गको सुरक्षा गर्न पनि मद्दत गर्छ’ डा. अधिकारी भन्छन् । नाकको प्रवेशद्वारमा रहेका साना रौँहरूले धुलो, फोहोर र ठूला कणहरूलाई रोकेर श्वासप्रश्वासमा प्रवेश गर्नबाट जोगाउने डा। अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार नाकको भित्री सतहमा रहेको म्यूकसको तहले साना कण, ब्याक्टेरिया र भाइरसहरूलाई टाँस्छ । यो म्यूकसले हावामा रहेका प्रदूषकहरूलाई समातेर शुद्ध हावा मात्र फोक्सोमा पुग्छ । नाकको भित्री भागमा रहेका सिलिया नामक साना रौँजस्ता संरचनाहरूले म्यूकसमा टाँसिएका कणहरूलाई बाहिर निकाल्न वा घाँटीतर्फ पठाउन मद्दत गर्छन्, जसले गर्दा ती कणहरू निलिन्छन् वा खोकेर बाहिर निस्किने अधिकारीले बताए । ‘नाकले बाहिरी हावालाई शरीरको तापक्रममा तताउँछ र आर्द्रतायुक्त बनाउँछ, जसले फोक्सोलाई उपयुक्त हावा प्रदान गर्छ । यसले हावामा रहेका केही प्रदूषकहरूलाई पनि कम गर्छ’ अधिकारी भन्छन्, ‘नाकको म्यूकसमा रहेका इन्जाइम र प्रतिरोधी तत्वहरूले ब्याक्टेरिया र भाइरसलाई नष्ट गर्न मद्दत गर्छ ।’
आयुर्वेदमा नाकको विशेष महत्व छ, किनभने यो श्वासप्रश्वासको प्रमुख मार्ग हो र प्राणवायुको प्रवेशद्वार मानिन्छ । नाकले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने आयुर्वेदिक चिकित्सक तथा मनोविद् डा। शान्ति तिमल्सिना बताउँछिन् । तिमल्सिनाका अनुसार आयुर्वेदमा नाकलाई शारीरिक र आध्यात्मिक स्वास्थ्यको आधार मानिन्छ । यसको नियमित हेरचाह, नस्य कर्म र प्राणायाम जस्ता अभ्यासले शरीर र मनलाई स्वस्थ तथा सन्तुलित राख्ने काम गर्छ । ‘नाक मार्फत प्रवेश गर्ने प्राणवायुले शरीरको सम्पूर्ण कार्यलाई नियन्त्रित गर्छ । श्वासप्रश्वासले दोष वात, पित्त, कफको सन्तुलन कायम राख्छ । नाकको माध्यमबाट सही श्वासप्रक्रियाले मनलाई शान्त र शरीरलाई ऊर्जावान बनाउँछ । अशुद्ध हावा नाक हुँदै फोक्सोमा पुग्छ । त्यसैले नाकको ख्याल राख्नु आवश्यक छ । तर नाकलाई सफा र स्वास्थ राख्न जथाभावी कोट्याउन हुँदैन । अनावश्यक सफा गर्नु हुँदैन । धुलो र प्रदूषणबाट जोगिने, धुम्रपान नगर्ने, प्रदूषित ठाउँमा जानै परे मास्कको प्रयोग गर्नुपर्ने नाक, कान, घाँटीरोग विशेषज्ञ डा। ढुण्डीराज पौडेल बताउँछन् । प्रशस्त मात्रामा पानी पिउने र भिटामिन सीयुक्त खानेकुरा खानुपर्छ । भिटामिन सी भएको खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने डा पौडेलको भनाइ छ । ‘नाक, मुख र घाँटीलाई चिसो राख्न पानी र धेरै तरल पदार्थ पिउने गर्नुपर्छ’ डा।पौडेल भन्छन्, ‘यसले ब्याक्टेरिया वा भाइरसको प्रवेश रोक्न सहयोग गर्छ । नाक, घाँटी सुक्खा हुँदा भाइरस वा ब्याक्टेरियाले आफूलाई वृद्धि गर्ने अवसर प्राप्त गर्छ ।’ कुनै लक्षण क्रमशः बढ्दै गएको छ भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्ने उनको सुझाव छ । भाइरसका कारण नाक बन्द हुने, सिंगान बग्ने आदि हुन्छ । साइनसमा संक्रमण हुँदा टाउको दुख्ने, नाक बन्द हुने, ज्वरो आउने आदि लक्षण देखिन्छ । धुलो, परागकण वा अन्य एलर्जीका कारण नाक बन्द हुने, हाच्छ्युँ आउने जस्ता समस्या हुने पौडेले बताए । नाकको भित्री भागमा मासु पलाउने समस्या, जुन श्वासप्रश्वासमा बाधा पुर्‍याउँछ । नाकको हड्डी बाङ्गो हुने समस्या हुँदा श्वास फेर्न गाह्रो हुन्छ । सुख्खा वातावरण, चोट वा उच्च रक्तचापका कारण पनि नाकबाट रगत बग्न सक्ने डा।पौडेलको भनाइ छ । सामान्यतया नाकको सफा गर्न जरुरी छैन । नाकको बनावट नै सफा गरिरहनुपर्ने खालको छैन । सिंगान आउनेबित्तिकै नाक सफा हुन्छ । तर, आयुर्वेदमा नाकलाई सफा गर्ने विधिबारे उल्लेख भएको आयुर्वेदिक चिकित्सक तिमल्सिना बताउँछिन् । तिमिल्सिनाका अनुसार नाक सफा गर्न आयुर्वेदमा जलनेती विधिबारे उल्लेख छ । जलनेती एक प्राचीन र प्राकृतिक क्रिया हो । नाक सफा गर्ने यस प्रक्रियामा नाकबाट फोहोर हटाउन नाक नुन पानीले धोइन्छ । यसले पिनासबाट छुटकारा पाउन पनि मद्दत गर्नुका साथै नाकमा फोहोर जम्न दिंदैन र जम्मा भएका कीटाणु पनि निकाल्छ । कुनै पनि योगाभ्यास गर्न राम्रोसँग सास लिन सहज बनाउन जलनेतीले मद्दत गर्छ । यो अभ्यास पहिलोपटक गर्दा योग प्रशिक्षक तथा आयुर्वेदिक चिकित्सकको निगरानीमा मात्र गर्नुपर्ने उनको सुझाव छ । ‘नाकमार्फत गरिने प्राणायाम जस्तैः अनुलोम–विलोमले पनि नाक शुद्धिकरण गर्छ र चक्रहरूलाई सन्तुलित बनाउँछ’ तिमल्सिना भन्छिन् ।’ आयुर्वेदको पञ्चकर्ममा ‘नस्य’ एक महत्वपूर्ण उपचार हो, जसमा नाकमार्फत औषधीय तेल, घिउ वा चूर्णको प्रयोग गरिन्छ । नस्यले टाउको, नाक, घाँटी र मस्तिष्कसम्बन्धी रोगहरू जस्तैः माइग्रेन, साइनस, अनिद्रालाई निको पार्छ । नाकलाई मस्तिष्कको प्रवेशद्वार मानिन्छ, त्यसैले नस्यले मानसिक स्पष्टता र स्मरणशक्ति बढाउने उनले बताइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *