जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा संकलन गरे एक खर्ब ८१ अर्ब बीमाशुल्क

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार असारसम्ममा १४ वटा जीवन बीमा कम्पनीले १ करोड ४१ लाख २ हजार ४८९ वटा बीमालेख बिक्री गरेर सो बराबरको बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १६।०५ प्रतिशतले बढेको छ। यस अधिमा सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले सन नेपाल लाइफ अगाडि रहेको छ। नेपाल लाइफले ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ। यो कम्पनीले २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन एलआईसी नेपाल रहेको छ।

समीक्षा अवधिमा यस कम्पनीले १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ भित्र्याएको छ। यसैगरी हिमालयन लाइफले १७ अर्ब ६६ करोड ७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड ७३ लाख रुपैयाँ, एसियन लाइफले १० अर्ब २४ करोड ८४ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड ६६ लाख रुपैयाँ र सिटिजन लाइफले ७ अर्ब ५१ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षमा सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख रुपैयाँ, मेटलाइफले ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ, आइएमई लाइफले ५ अर्ब ६५ करोड २७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड १ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड ४५ लाख रुपैयाँ र सन नेपाल लाइफले ५ अर्ब ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा यी सबै कम्पनीको व्यापार बढेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *