वाणिज्य बैंकको वार्षिक नाफा ७१ अर्ब नाघ्यो, नबिल बैंक अग्रस्थानमा

काठमाडौं । गत आर्थिक वर्ष २०८१।८२ मा वाणिज्य बैंकहरुले उल्लेख्य नाफा आर्जन गरेका छन्। प्रकाशित वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चौथो त्रैमाससम्ममा कुल ७१ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकहरुले ४९ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएका थिए।
नबिल बैंकको अग्रता
गत वर्षजस्तै यस वर्ष पनि नबिल बैंक लिमिटेड सर्वाधिक नाफा कमाउने बैंकमा पहिलो स्थानमा रहेको छ। असार मसान्तसम्ममा बैंकले ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले वृद्धि हो। नबिलपछि दोस्रो स्थानमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ६ अर्ब ७५ करोड नाफा कमााएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड, प्रभु बैंकले ५ अर्ब ४४ करोड, एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड र लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन्। यो अवधिमा ४ वाणिज्य बैंकको नाफा भने घटेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ७.५१ प्रतिशतले घटेर ३ अर्ब, नेपाल एसबिआई बैंकको ९.८६ प्रतिशतले घटेर १ अर्ब ८० करोड, सिटिजन्स बैंक इन्टरनेशनलको २ प्रतिशतले घटेर १ अर्ब २९ करोड र एनआईसी एशिया बैंकको नाफा ७७ प्रतिशतले घटेर १६ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। वित्तीय विवरणअनुसार कुमारी बैंकको नाफा वृद्धिदर सबैभन्दा उच्च देखिएको छ। अघिल्लो वर्षको वित्तीय विवरण परिमार्जनपछि यस बैंकको नाफा ४५ हजार ८२९ प्रतिशतले बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको हो। त्यस्तै, प्रभु बैंक र नेपाल बैंकको नाफा वृद्धिदर पनि उल्लेख्य रहेको छ। सानिमा बैंकको नाफा ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड, माछापुच्छ्रे बैंकको नाफा ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड र हिमालयन बैंकको नाफा २२ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँमा पुगेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *