३७ जना चिनियाँ सैनिकको टोली काठमाडौंमा
काठमाडौं । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसीप’ को पाँचौँ संस्करण शनिबारबाट काठमाडौंमा सुरु हुँदै छ ।
शुक्रवार हिमालयन एयरलायन्सको विमानमार्फत लासा हुँदै ३७ जना चिनियाँ सैनिकको टोली काठमाडौं आइपुगेका हुन् । दश दिनसम्म चल्ने यो अभ्यास प्रतिआतंकवाद, युद्धकला र विपद् व्यवस्थापनमा केन्द्रित छ । रक्षा मन्त्रालयका अनुसार यो नियमित अभ्यास क्षमता अभिवृद्धि र अनुभव आदान-प्रदानका लागि हो, कुनै देशविरुद्ध लक्षित छैन । गत वर्ष चौथो संस्करण चीनको सिचुवान प्रान्तको छोङछिङमा भएको थियो ।
अभ्यासको तयारीका लागि नेपाली सेनाको पाँच सदस्यीय टोली, उपरथी प्रेमध्वज अधिकारीको नेतृत्वमा, छेन्दुमा आयोजित फाइनल प्लानिङ कन्फरेन्समा सहभागी भएको थियो । यो अभ्यास सन् २०१७ मा काठमाडौंमा पहिलोपटक सुरु भएको थियो । दोस्रो संस्करण २०१८ मा छेन्दुमा र तेस्रो २०१९ मा नेपालमा भएको थियो ।
कोरोना महामारीले केही वर्ष प्रभावित गरे पनि गत वर्ष चीनमा चौथो संस्करण सम्पन्न भएको थियो ।

















