नर्भिक इन्टरनेसनल हस्पिटलले नर्सहरूको पारिश्रमिकमा वृद्धि
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ । स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको तलब ३७ हजार रुपैयाँ कायम गरिएको अस्पतालले जनाएको छ । अस्पतालले एक प्रेस विज्ञप्तिमार्फत नर्सिङ कर्मचारीको भूमिकालाई कदर गर्दै पारिश्रमिक वृद्धि गरिएको जनाएको छ । नयाँ तलबमान कात्तिक १ गतेदेखि लागु हुनेछ । अस्पतालले चालु आर्थिक वर्षमा दोस्रोपटक पारिश्रमिक पुनर्मूल्यांकन गर्दै नर्सिङ कर्मचारीको तलब बढाइएको बताएको छ ।
अस्पतालले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न तथा उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने बताएको छ । पछिल्लो समय विभिन्न अस्पतालमा कार्यरत नर्सहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै आन्दोलन गरिरहेका छन् । नर्सहरूले सरकारले तोकेको आधारभूत तलब तथा सुविधा पाउनुपर्ने माग राखेका छन् । सरकारले नर्सहरूका माग सम्बोधन गर्न समिति नै गठन गरेको छ । अहिले सरकारले तोकेको आधारभूत तलब ३४ हजार ७३० रुपैयाँ छ ।
















