आभाष सहकारीको १६ औं साधारण सभा सम्पन्न
काभ्रे । बनेपामा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनको पालना गर्दै सदस्यहरुको बिचमा मात्र सभा सम्पन्न गरेको छ । संस्थाका प्रमुख सल्लाहकार तथा संस्थापक अध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरेको हो । सभामा अध्यक्ष ग्रुवेन तौजलेले सदस्यहरुको सुख दुःखको सहयात्री भन्ने नाराका साथ सानो पुँजीबाट सुरु भएको सहकारीमा हालसम्म ६ हजार भन्दा बढी शेयर सदस्य र बाल बचतकर्ता आवद्ध भएको बताए । संस्थाले नाफा कमाउने मात्र नभई समाजप्रतिको उत्तरदायित्व महसुस गरी विभिन्न सामाजिक क्रियाकलाप समेत गर्दै आएको उनको भनाई छ । वि।स। २०७४ सालबाट संस्थाले छोरी अभियान कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमलाई हालसम्म पनि निरन्तरता दिइएको उनले सभामा जानकारी दिए । दिगो विकासको दुई लक्ष्य ‘ स्वास्थ्य र समुन्नत समाज’ र ‘लैंगिक समानता’ हासिल गर्नको लागि संस्थाले छोरी अभियान कार्यक्रम सञ्चालनमा ल्याएको र उक्त कार्यक्रम अन्तर्गत प्रत्येक नयाँ बर्ष र संस्थाको वार्षिकोत्सवको दिन शिर मेमोरियल अस्पतालमा जन्मने पहिलो छोरीलाई आर्थिक सहयोगका साथै स्वागत गर्दै आएको अध्यक्ष तौजलेले बताए । संस्थाले आभाष सदस्य सुरक्षा कार्यक्रम समेत सञ्चालनमा ल्याएको र गत आ.व. मा १४१ जना सदस्यलाई उक्त कार्यक्रम मार्फत् १२ लाख ६४ हजार विभिन्न रोगको उपचारको लागि आर्थिक सहयोग गरिएको उनको भनाई छ । त्यसैगरी संस्थाले आफ्नो कार्यक्षेत्र भित्र ४९ वटा महिला समुह गठन गरी उनीहरुलाई विभिन्न सीपमुलक तालिकका साथै स्वास्थ्य शिविर तथा सामाजिक क्रियाकलाप गर्दै आएको उनले बताए । संस्थाले। सहकारी मुल्य, मान्यता र सिद्धान्तका साथै वित्तीय पारदर्शितालाई कायम गर्दै अगाडि बढेकाले वित्तीय संकटका बिचमा पनि संस्थाले सदस्यहरुको विश्वास जित्न सकेको उनले बताए । संस्थाको पहिलो प्राथमिकता सदस्यको हित र सम्पत्तिको सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दैे त्यसका लागि जगेडा कोष र जोखिम व्यवस्थापन कोषलाई बलियो बनाएर लैजाने नीति लिएको उनले सभालाई जानकारी दिए । प्रतिकुल अवस्थामा समेत सदस्यहरुको साथ, सहयोग र विश्वासका कारण कारोबारमा वद्धि भएको भए पनि बचत परिचालन नहुँदा आगामी दिनमा थप चुनौती थपिन सक्ने उनले बताए । सहकारी संस्थाहरुको नियमन गर्ने निकाय धेरै भएको र उनीहरुले आ आफ्नो तरिकाले संस्थाहरुको नियमन गर्ने भएकाले यसले पनि सहकारी क्षेत्रमा अन्यौलता थपिएको अध्यक्ष तौजलेले बताए ।
सभामा सचिव धर्मभक्त प्रधानले वार्षिक प्रगति प्रतिवेदन प्रस्तु्त गर्दै संस्थाले सदस्यहरुको आवश्यकता अनुसार १४ प्रकारको बचत र ११ प्रकारको ऋणको सेवा सञ्चालनमा ल्याएको जानकारी दिए । उनले सभामा आर्थिक प्रशासन व्यवस्थापन कार्यविधि २०६७,कर्मचारी व्यवस्थापन कार्यविधि,ऋण व्यवस्थापन कार्यविधि,नगद परिचालन कार्यविधि र एएमएल कार्यविधि २०७३ संशोधनको लागि सभामा प्रस्तुत गरेका थिए । सभाले उक्त कार्यविधिहरु सर्वसम्मत संशोधन गरेको छ । सभामा कोषाध्यक्ष सुर्यकुमार रंजितले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०८१÷८२ को असार समान्तसम्म ९३ करोड ९ लाख ४८ हजार कुल सम्पत्ति पुगेको बताए । संस्थाको शेयर पुँजी ३ करोड ७६ लाख, बचत संकलन ८२ करोड ७६ लाख, ऋण लगानी ६६ करोड ५७ लाख गरी खुद नाफा ६७ लाख भएको उनले बताए । संस्थाको जगेडा कोषमा २ करोड ९४ लाख र जोखि व्यहोर्ने कोषमा ३ करोड ५० लाख पुगेको छ । संस्थाले गत बर्ष ५८ लाख ६० हजार आन्तरिक राजश्व कार्यालय र ८ लाख ४९ हजार नगरपालिकामा दाखिला गरिएको प्रतिवेदनमा उल्लेख छ । साधारणसभामा आर्थिक वर्ष २०८१। २०८२ मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु सुकदेव लाखे श्रेष्ठ, शारदा श्रेष्ठ, बाल बचतकर्ता प्रणव कायस्थ, उत्कृष्ट ऋण कारोबार गर्ने स्नेहा रानामगर खड्कालाई सम्मान गरिएको थियो । त्यसैगरी शेयर सदस्यका छोराछोरीहरुका तर्फबाट एसइई परिक्षामा ३ दशमलव ८५ जिपिए ल्याउने रोनिशा सञ्जेल र ३ दशमलव ८२ जिपिए ल्याउने इशान मानन्धर सम्मानित भएका थिए भने प्रशासन विभागका अधिकृत श्रीकृष्ण सुवाल उत्कृष्ट कर्मचारी घोषित भए ।
















