ललितपुर बचत संघको ३१ औं साधारण सभा सम्पन्न
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुलाई ७ प्रतिशत लाभांश दिने भएको छ । संघको ३१ औं साधारण सभाले सदस्य संस्थाहरुलाई ७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथि संघकी संस्थापक अध्यक्ष रोहिणी जोशी रहेकी थिइन् । संघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनको पूर्ण पालना गर्दै सदस्य संस्थाहरुको बिचमा विभिन्न विषयमा माथि छलफल गरी सभा सम्पन्न गरेको जनाएको छ । सभामा अध्यक्ष बजगाईले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘ सम्मृद्ध साकोस दिगो संघ’ को परिकल्पना लिएर अगाडि बढेको र संघमा आवद्ध संस्थाहरुको क्षमता विकास र वित्तीय पहुँचका लागि निरन्तर काम गर्दै आएको बताए । उनले जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाको विकास र प्रवद्र्धनमा स्थापनाकालदेखि नै संघले महतवपूर्ण भूमिका खेल्दै आएको सो अवसरमा उनले जानकारी दिए । संघले शिक्षा, तालिम, गोष्ठी, स्तरीकरण, अन्तर लगानी लगायतका माध्यमबाट संस्थाहरुलाई सबल र दिगो बनाउनका लागि काम गर्दै आएको अध्यक्ष बजगाई बताए । पछिल्लो समय केहि सहकारी संस्थाको गलत अभ्यासका कारण सहकारीप्रति आम सदस्यको विश्वास घटेको भन्दै उनले त्यसलाई चिर्नु अहिलेको चुनौती रहेको उल्लेख गरे । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानमा सम्बन्धित निकायहरुबाट प्रभावकारी नियमनलाई अगाडि बढाउन उनको माग छ । संस्थाहरुको कारोबार र गुणस्तरको आधारमा वर्गीकरण गर्ने व्यवस्था हुन सके समुदाय र सदस्य केन्द्रीत सहकारीहरुप्रति सदस्यको विश्वास बढ्नुका साथै राज्यबाट पाउने सुविधा समेत बढेर जाने उनले बताए । आर्थिक मन्दीको प्रभाव सहकारी क्षेत्रमा झन बढी परेको भन्दै यसबाट बाहिर आउन सरकारले सहज वातावरण बनाउनु पर्नेमा उनको जोड छ । जिल्लाको दुर्गम तथा वित्तीय पहुँच नपुगेका स्थानहरुमा वित्तीय पुहँच पुर्याउन सहकारीको प्रवद्र्धन गरिने उनले सभामा जानकारी दिए । यस आर्थिक बर्षमा लेखा सुपरिवेक्षण समितिको गोष्ठी र ललितपुर साकोस समिट गरिने उनले जनाए । महिलाहरुद्वारा सञ्चालित सहकारी संस्थालाई उद्यमशिलता विकासका लागि १० लाखसम्म विना धितो ऋण दिइने उनले सभालाई जानकारी दिए । संघमा आवद्ध भएका तर निस्कृय रहेका ५८ वटा सहकारी संस्थाको सदस्यता खारेजी प्रक्रिया अगाडि बढाइएको उनले जनाए । सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक सानुकाजी महर्जनले प्रतिवेदन प्रस्तुत गर्दै प्रति सदस्य प्राथमिक पुँजी कोषको १५ प्रतिशतको सीमाभित्र रही ऋण लगानी गर्न सुझाए । सभामा कोषाध्यक्ष वसन्त मालीले आर्थिक बर्ष २०८१ ् ८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी ७ करोड २० लाख ७८ हजार,जगेडा तथा अन्य कोष ९ करोड ६७ लाख ३० हजार,बचत संकलन १ अर्ब ४३ करोड ६५ लाख र ऋण लगानी ९६ करोड ११ लाख पुगेको बताए । संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले सभामा स्वागत मन्तव्य राखेका थिए भने सचिव श्यामकृष्ण महर्जनले सभाको सञ्चालन गरेका थिए ।
विभिन्न विधामा सम्मान प्रदान
संघले ३१ औं साधारण सभाको अवसरमा विभिन्न विधामा व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । संघले ललितपुर महानगरपालिका सहकारी शाखाका रही सेवा निवृत भएका चिरञ्जिवी पौडेल, पूर्व सञ्चालकतर्फ युवराज शाक्य र सहकारी पत्रकारिता पुरस्कार नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठलाई प्रदान गरेको छ । त्यसैगरी क्षेत्रगत रुपमा महानगरपालिका भित्रबाट पद्मावती बचत तथा ऋण सहकारी संस्था , गोदावरी नगरपालिकाबाट नवदुर्गा बचत तथा ऋण सहकारी संस्था र महालक्ष्मी नगरपालिकाबाट ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको छ । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट बेथेल बचत तथा ऋण सहकारी संस्था पुरस्कृत भएको छ भने संघको कर्मचारी मध्येबाट सहायक व्यवस्थापक भिम बहादुर खड्का पुरस्कृत भएका छन् । सम्मानित व्यक्ति तथा संस्थालाई नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
















