श्री बाराही साकोसले दियो सीपमूलक सजावट तालिम
भक्तपुर । भक्तपुरको भुलाँचामा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सीपमूलक तालिम प्रदान गरेको छ । संस्थाको सदस्य तथा बचत उपसमितिद्धारा आयोजित दुबोको माला बनाउने र सुपारी सजावट तालिमको समापनपछि प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि संस्थाको अध्यक्ष राधेश्याम सुवालबाट सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि सुवालले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले यस्ता सीपमुलक तालिमले बेरोजगारी घटाउने र स्थानीय स्तरमा स्वरोजगारका अवसर सृजना गर्न महत्वपुर्ण भुमिका खेल्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिवजी हाकुदुवाले सहभागी सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै संस्थाको उद्देश्य सदस्यको आर्थिक तथा सामाजिक सशक्तिकरण, सहकारीको भुमिका र सीप विकासको बारेमा उल्लेख गरे । सकारात्मक सोच, सामुहिक भावना र आत्मनिर्भरतामा जोड दिदै तालिमबाट प्राप्त सीपलाई आम्दानीको स्रोत बनाउन प्रोत्साहन गर्ने उद्देश्य रहेको जानकारी दिँदै आगामी दिनमा पनि यस्तो तालिम कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता उनले व्यक्त गरे । प्रशिक्षक रविता बासुकलाले दुई दिनसम्म प्रयोगात्मक प्रशिक्षण दिएको तालिममा तालिममा १५ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिम अवधिभर सहभागीहरुलाई दुबोको माला र सुपारी सजाउने बारे सैद्धान्तिक ज्ञान, व्यवहारिक ज्ञान, आवश्यक सामाग्री र बजारको अवस्थाबारे समेत ज्ञान सीप प्रदान गरिएको थियो । प्रशिक्षार्थी श्रीलक्ष्मी पंच र रामलक्ष्मी भैलले आफुले सिकेका सिकाईको अनुभव व्यक्त गर्दै तालिमबाट आफ्नो लागि निकै फलदायी रहेको र यसले भविष्यमा आम्दानीको बाटो देखाएको जनाए । कार्यक्रमकी सभापति सर्मिला मानन्धरले उपस्थित सम्पुर्णलाई तालिम कार्यक्रम सफल गर्न सहयोग गरेकोमा धन्यवाद दिँदै प्रशिक्षार्थीहरुले तालिमको सदुपयोग गर्ने आशा व्यक्त गरेकी थिइन् ।

















